वीरगंज, २५ वैशाख/
सामी परियोजना अन्तर्गत वीरगंज महानगरले ‘स्वदेशमा नै रोजगार गरौं, वैदेशिक रोजगारमा जानुपरे सही सूचना र सीपसहित मात्र जाऔं’ नाराका साथ सुरक्षित आप्रवासन कार्यक्रमसम्बन्धी एक दिने पत्रकार अन्तत्र्रिmया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कले सातवटै प्रदेशमध्ये मधेस प्रदेशबाट धेरै युवा वैदेशिक रोजगारमा गएको देखाएको छ । कार्यत्रममा गैरकानूनीरूपमा वैदेशिक रोजगारमा जाने युवाहरूको सङ्ख्या करीब एक करोड रहेको तथ्याङ्कले देखाएको छ । मधेसबाट मात्र एक लाख ७२ हजारजनाले श्रम स्वीकृति लिएका छन् । सबैभन्दा बढी धनुषाबाट ३९ हजार १०७ र सबैभन्दा कम पर्साबाट सात हजार १३५ जनाले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका छन् । कार्यक्रममा आर्थिक वर्ष २०८०/२०८१ मा पर्साका १४ वटा पालिकामध्ये सबैभन्दा बढी वीरगंज महानगरबाट एक हजार ९५० जना र सबैभन्दा कम छिपहरमाई गापाबाट २०० जनाले श्रम स्वीकृति लिएका छन् ।
कार्यक्रममा वैदेशिक रोजगारमा श्रमिकहरूले भोग्ने समस्याहरू उजागर गर्दै उनीहरूको न्यायप्राप्तिमा सञ्चारमाध्यमले सशक्त भूमिका निर्वाह गरेको बताइएको थियो । विशेषगरी, सामी परियोजनाले पीडित श्रमिक तथा तिनका परिवारजनका मुद्दालाई उठान गर्न र क्षतिपूर्तिप्राप्तिमा सहयोग गर्दै आएको छ ।
कार्यक्रममा वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले वैदेशिक रोजगारसँग सम्बन्धित विषयलाई केन्द्रमा राखेर पत्रकारहरूले जिम्मेवार ढङ्गले समाचार सम्प्रेषण गरी जनचेतना फैलाउनुपर्ने बताए ।
प्रप्रअ कर्णले सरोकारवालाहरूलाई उत्तरदायी बनाउने र वैदेशिक रोजगार क्षेत्रको नियमनमा सहयोग पुर्याउने विषयमा पत्रकारिताजगत्लाई चौथो अङ्गको भूमिकामा सक्रिय सहभागिता जनाउन आग्रह गरे । पर्साका १४ वटा पालिकामध्ये छवटा पालिकामा सामी परियोजनाले काम गर्दै आएको छ । वीरगंज महानगरपालिका, पर्सागढी, पोखरिया नपा, सखुवाप्रसौनी, ठोरी रजीराभवानी गाउँपालिकामा सामी परियोजना सञ्चालनमा छ ।
नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालय र वीरगंज महानगरपालिकाको संयोजनमा कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रममा संयोजक रामाशङ्कर कुशवाहाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य, महत्त्व र आगामी गतिविधिबारे जानकारी गराएका थिए ।