राधेश्याम पटेल, वीरगंज, ३ चैत
रेलमार्गबाट बल्क मात्रामा कच्चा तेल भित्रिन शुरु भएको छ । कोलकत्ताको हल्डिया डक बन्दरगाहबाट आईतवार दिउँसो ३ बजे सोयाबिनको कच्चा तेल बोकेको ‘ट्यांक कन्टेनर’ वीरगंजको ड्राईपोर्ट भन्सार भित्रिएको हो । बारा,जितपुरको खाने तेल उत्पादक उद्योग, शिव शक्ति प्रालिले अरजेन्टिनाबाट खरिद गरी उक्त २० फिट्टे ९० वटा ट्यांक कन्टेनरको -याक पहिलो चोटी नेपाल भित्रियाएको हो । दुई हजार मेट्रिक टन कच्चा तेल (क्रुड आयल) आयात गरी रेलमार्गबाट ट्यांक कन्टेनरमा ल्याएको शिव शक्ति प्रालिका प्रमुख कार्यकारी अधिकृत सतिश अग्रवालले जानकारी दिए ।
शिव शक्ति समुहका प्रबन्ध निर्देशक सन्दिप अग्रवालको विशेष पहल र श्रीसिया सुक्खा बन्दरगाह(ड्राईपोर्ट) भन्सार सञ्चालक कम्पनी प्रिस्टिन भ्याली ड्राईपोर्ट प्रालिको सहयोगमा रेलमार्गबाट कच्चा तेल आयात गर्ने आफुहरुको लक्ष्य पुरा भएको उनले बताए । ‘हाम्रो कम्पनीका प्रबन्ध निर्देशक सन्दिपजीको पहिलेदेखि यो सेवाको लागि पहल गर्दै हुनुहुन्थ्यो,प्रिस्टिनका अधिकारीहरुको सहयोगले हाम्रो प्रयास सफल भएको छ,’उनले भने,‘यसले कच्चा तेलको ढुवानी भाडामा सडकमार्गको ढुवानीको भाडामा औसत १५ कटौती गरी बचत गराउँछ ।’
तेस्रो मुलुकबाट खरिद गरिएको कच्चा तेल कोलकात्ताको बन्दरगाहमा अलपत्र पर्दा नेपाली उद्योगलाई वर्षेनी करौडौ रुपैयाँ विलम्ब शुल्क र डिटेन्शन शुल्क तिर्नू पर्ने बाध्यता खेप्दै आएका नेपाली व्यवसायीलाई पछिल्लो समय समयमा कच्चा तेल ढुवानी गर्ने ट्यांकरको उपलब्धतामा समेत समस्या सृजना भएसंगै कच्चा तेल आयातमा कठिनाई उत्पन्न भएको थियो । तर यो सेवा शुभारम्भ हुदाँ अन्तराष्र्टिय ब्यापारमा सहजता थपिएको शिव शक्तिका महाप्रबन्धक निखिल श्रीवास्तव बताउँछन् । ‘नेपालबाट प्रशोधित खाने तेलको भारतमा हुने निकासी फुकुवा भएसंगै नेपाली तेल उद्योगका लागि कच्चा पदार्थ कच्चा तेल विदेशबाट ल्याउने क्रम शुरु भएको थियो,’उनले थपे,‘तर पछिल्लो समय सडकमार्गाबट ढुवानी गर्ने प्रयाप्त ट्यांकर पाइरहेको छैन,त्यसैले कम्पनीले बल्क परिमाणमा रेलमार्गबाट कच्चा तेल भित्रियाउने नीति बनायो ।’ यस्तो सेवा शुरु भएपछि नेपालको अन्य साना ठुलो तेल उद्योगलाई समेत लाभ लिने सुविधा थपिएको छ । ट्यांक कन्टेनर पूर्णरुपमा शिल भएर भित्रिने भएकोले बाटोमा तेल चोरी वा अन्य अपराधिक गतिविधिको झन्झट समेत नरहेको व्यवसायीहरुले बताएका छन् ।
श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगंजका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले नेपाल–भारत एवं तेस्रो मुलुकसंगको ब्यापारमा नयाँ अयाम थपिएको बताए । आधुनिक युगमा ब्यापारलाई सहज र तिव्र गतिमा सहजता प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । रेलमार्गबाट तेल आयात शुरु भएकोले यसले अगामि दिनमा ड्राईपोर्ट भन्सारको आयात र राजस्व सं्रकलनमा समेत साकारात्मक प्रभाव पार्ने प्रमुख भन्सार अधिकृत बरुवालको भनाई छ । त्यसैगरी,नेपाल इन्टरमोडेल यातायात विकास समिति वीरगंजका प्रमुख कमल ज्ञवालीले व्यापार सहजीकरणमा आजको दिन कोसे ढुङ्गा सावित भएको बताए । प्रिस्टिन भ्याली ड्राईपोर्टका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अतुल शर्माले नेपाली व्यवसायीको हरेक सुविधाको लागि प्रिस्टिन भ्यालीले पहल कदमी गरिरहेको र अगामि दिनमा समेत आफनो सेवाहरु प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने उनले बताए ।