प्रस, परवानीपुर, १९ माघ/
बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरमा आजदेखि चैनपुर प्रिमियर लिग शुरु भएको छ । एउटै वडाको चारवटा टोलका दर्जनौं खेलाडीलाई मिलाएर छवटा टीम बनाई यो प्रतियोगिता भइरहेको हो ।

एउटाको उदघाटन परवानीपुर गापाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले गरे । प्रतियोगिताको पहिलो खेल चैनपुर क्यापिटल र चैनपुर इगलबीच भएको थियो । जसमा चैनपुर इगलले नौं रनले क्यापिटललाई पराजित गर्दै विजयी शुरुआत गरेको छ । टस जितेर चैनपुर क्यापिटलले इगललाई ब्याटिङ गर्ने निम्तो दियो । निर्धारित १६ ओभरको खेलमा नौं विकेटको क्षतिमा १२१ रन इगलले बनाएको थियो । क्यापिटलले सबै ओभर खेल्दै पाँच विकेटको क्षतिमा ११२ रनमात्र बनायो । उक्त खेलमा चैनपुर इगलका ४२ रन र तीन विकेट लिएका राज पटेल म्यान अफ दि म्याच घोषित भए ।

डिपिएस स्कूलको उत्तरपट्टी रहेको खेल मैदानमा फागुन ३ गतेसम्म प्रतियोगिता चल्नेछ । दुई वर्षदेखि आयोजना भइरहेको उक्त प्रतियोगिताको संयोजक विशालकुमार पटेलको अध्यक्षतामा प्रतियोगिताको उदघाटन समारोहमा वडाध्यक्ष गम्भीरा पटेल, पूर्ववडाध्यक्ष गजेन्द्र पटेल, स्थानीय समाजसेवी जगदीश साह, छ वटा टीमहरु चैनपुर क्यापिटलका सञ्चालक रोशन पटेल, चैनपुर इगलका भुलन साह, बिर्ता राइडरका सुनील पटेल, सुपुर टाइगरका श्रवण यादव, रामटोल वारियरका जयराम राम, रोयल च्यालेन्जर चैनपुरका जाहिर हुसेनलगायतको सहभागिता थियो ।
एउटा टीमको पकेट मनी ७० हजारमध्ये २०० देखि दुई हजारमा खेलाडी खरीद गरी यो टीम बनाइएको छ ।
Facebook Comments Box