राधेश्याम पटेल
वीरगंज, १९ मंसिर । नेपालको प्रवेशद्वार भनेर वीरगंजलाई चिनिन्छ । यो पर्सा जिल्लाको सदरमुकाम पनि हो । पर्सामा झन्डै चार हजार क्वेयर समुदाय बसोबास गर्दछन् । जसमध्ये ५०० जनामात्रै खुलेर सार्वजनिक रुपमा जीवनयापन गर्ने गरेका छन् भने ३५०० जना अहिले पनि खुल्न नसकेको क्वेयर समुदायको भनाइ छ ।
क्वेयर समुदायको हक अधिकारको लागि अभियान जारी राखेको सहयात्री समाज नेपाल वीरगंजका कार्यकारी संयोजक सुरज लिम्बुका अनुसार सार्वजनिक रुपमा खुलिसकेकाले मात्र म तेस्रो लिंगी हो भनेर पहिचानसहित अन्यलाई बताउने गरेका छन् भने नखुल्ने सो अनुभूति लैंगिक तथा यौनिक अल्पसंख्यकको भए तापनि उनीहरु पुरुषझै समाजमा बाँच्ने गरेका छन् । कतिपयले ट्रान्सजेन्डर भएता पनि उनीहरुको नागरिकता पुरुषकै नामबाट हुँदा विभिन्न ठाउँमा गाली गलौज र समस्या पनि भोग्नुपरेको उनको भनाइ छ ।

उदाहरणको लागि वीरगंज–१६ नगवाकी ममता ट्रान्सजेन्डर विभिन्न सरकारी निकायमा आफनो नागरिकता पेश गर्दा झन्झट खेप्नुपरेको बताउँछन् । उनी जन्मिदा पुरुष थिए, उनको बुबा आमाले उनको नाम महम्मद मुख्तार राखे । १०–११ वर्षको उमेरमा कक्षा ५ सम्म पढाइ सकेपछि केटीसँग बसेर खेल्ने, केटीको कपडा लगाउने, शृंगार गर्ने, विभिन्न नाचहरुमा केटी बनेर नाच्ने प्रवृत्ति घर परिवारले देखेपछि उनी छक्का हुन्, मौगा हुन भनेर हेला गर्थे ।
त्यसपछि उनी महिलाजस्तै बनेर जीवन बिताइरहेकी बताउँछन् । सो अनुभूतिको आधारमा आफू तेस्रो लिंगी हुन भनेर विभिन्न गैरसरकारी संस्थाहरुको कार्यक्रममा आबद्ध भएपछि थाहा पाएको र त्यसपछि उनी सोही अनुरुपमा बाचिरहेकी बताउँछिन तर पनि नागरिकता पुरुषकै बोक्नुपर्ने बाध्यता छ । नागरिकता बनाउन जाँदा कपाल ठूलठूलो पालेको हेर्दा जिल्ला प्रशासन कार्यालय, पर्साको मूलगेटमा एकजना प्रहरीले यो तेस्रो लिंगी हो भनेर यसको नागरिकता बन्दैन भनेर आलोचना पनि गरेको थियो । तर सनाखत हुने बेलामा बुबाले टोपी लगाएर फोटो खिंचाइ नागरिकता बल्लतल्ल बनाए । अहिले पनि बैंकमा खाता खोल्न जाँदा नागरिकताको प्रतिलिपि लिंन जाँदा, हवाइ यात्रा गर्दा बोरिङ पासको समयमा विभिन्न झन्झट खेप्नुपरेको उनको अनुभव छ ।
उनले भन्छिन् “नागरिकता देखाउँदा पुरुष मान्छेको हो र स्वरुप महिलाजसतै देखिएपछि सुरक्षा निकायका व्यक्तिहरु विभिन्न झन्झट पैदा गर्ने गर्छन् ।” साथै सरकारी काममा सर्जमिन, मुचुल्का र वडाको सिफारिस समेत खोज्ने गरेको उनी बताउँछिन् । पहिले भोट दिन जाँदा पुरुष र महिलाको मात्र लाइन हुने गरेकोमा अहिले २०७९ सालको चुनावमा महिला, पुरुष र अन्य लिंगको लाइन लागेको उनी सम्झिन्छन् । निर्वाचन कार्यालयमा पनि आफूहरु अन्य वर्गमा बस्न चाहे तापनि पुरुषकै रुपमा कानुनी रुपमा रहेको उनी बताउँछिन् । नागरिकता परिवर्तन गर्दा अन्य कानुनी जटिलता सामना गर्नुपर्ने भएकोले त्यो नगरेको समेत वीरगंज–२४ रानीघाटका अर्का तेस्रो लिंगी सजिया बताउँछिन । ४५ वर्षीया सजिया घर परिवारबाट टाढा डेरा लिएर बस्छिन् । बुबाआमाको तीन छोरामध्ये कान्छा छोराको रुपमा जन्मेका राजेन्द्र सहनी १५–१६ वर्षको उमेरपछि आफू तेस्रो लिंगी हुँ भनेर बुझेका थिए । तेस्रो लिंगीहरुलाई घर परिवारबाट बहिष्कार गर्ने, धन सम्पत्तिबाट वञ्चित गर्नेलगायतको समस्या खेप्नुपरेको उनीहरु बताउँछन् ।
तसर्थ नेपाल सरकारले संविधानमा गरेको व्यवस्था अनुसार सहज प्रक्रियाबाट सो अनुभूतिको आधारमा लैंगिक तथा अल्पसंख्यक समुदायका लागि नागरिकता बनाउनुपर्ने, नियम ल्याउनुपर्ने र राज्यको अन्य हक अधिकारमा आफूहरुको सहभागिता हुनुपर्ने क्वेयर समुदायको माग छ ।