spot_img
spot_img

बाराको विश्रामपुरमा चोरीको मोटरसाइकलको खुलेआम खरीद बिक्री

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ मङ्सिर/ बाराको विश्रामपुर गाउँपालिका–१ कल्याणपुरमा चोरीका मोटरसाइकलको बिगबिगीका कारण स्थानीयहरू मारमा परेका छन्।
बारा/पर्सा तथा भारतबाट चोरी भएका मोटरसाइकलहरू कल्याणपुरमा पुग्ने गरेको र सोही ठाउँबाट दैनिक खुलेआम खरीद–बिक्री हुने गरेको स्थानीयले बताएका छन्।
स्थानीय सुरक्षाकर्मीलाई प्रभावमा पारी सो गाउँमा रहेका केही चोरहरूले चोरीका मोटरसाइकल चढ्ने तथा बेच्ने गरेका छन्।
सो गाउँमा विभिन्नखाले महँगा १२ वटा मोटरसाइकल रहेको स्रोतको दाबी छ। चोरीका गाडीहरूमा भारतीय नम्बर प्लेट लगाइ तथा त्यसको नक्कली कागजात बनाइ बिक्री गर्ने तथा चढ्ने गरेको स्थानीयहरूको आरोप छ। सीमासँग जोडिएको सो गाउँमा हुने सीमा वारिपारि अवैध काममा पनि ती मोटरसाइकल प्रयोग भइरहेका छन्। तस्करहरूले चोरीका मोटरसाइकलमा नै सामानहरू ओसारपोसार गर्ने गरेका छन्।
स्रोतको अनुसार एकातिर चोरीका मोटरसाइकलहरूमा तस्करीका सामान ओसारपोसार गर्ने गरेको तथा अर्कोतिर केही मोटरसाइकलका पार्टपुर्जा खोलेर वीरगंजको बजारमा बेच्ने गरिएको छ।
सो गाउँलाई सुरक्षा दिने प्रहरी चौकी छतवा तथा सशस्त्र प्रहरी बेस क्याम्प मुसहर्वा छ। चोरहरूले प्रहरीलाई चोरीका मोटरसाइकल चढ्न वा ड्युटीमा आउन, जानका लागि समेत दिने गरेको स्थानीयको दाबी छ।
भारतबाट चोरी भइआएका मोटरसाइकलहरूलाई नेपालमा बिक्री वितरण गर्ने तथा नेपालबाट चोरी गरिएका मोटरसाइकलहरू भारतमा बिक्री गर्ने गरेको स्रोतले बताएको छ। तस्करीमा प्रयोग भएका मोटरसाइकलहरू पक्राउ पर्दा अनुसन्धान गरे चोरहरू सजिलैसँग पक्राउ पर्ने तथा मोटरसाइकल चोरीका घटनामा पनि न्यूनीकरण हुने स्थानीयको दाबी छ।
यता वीरगंजमा अहिले मोटरसाइकल चोरहरूको आतङ्कले नगरवासी त्रसित छन्। वीरगंजमा आउनेजाने वा बस्ने जोकोहीको पनि मोटरसाइकल यतिबेला सुरक्षित छैन। घरबाटै मोटरसाइकल चोरी हुन थालेपछि बाटोमा पार्किङ गरिएका मोटरसाइकलको सुरक्षा कसले गर्ने ? भन्दै एकजना चालकले गुनासो गरे।
पर्साको तथ्याङ्क हेर्दा सरदर दैनिक चारवटा मोटरसाइकल चोरी हुने गरेको र जिल्ला प्रहरी कार्यालय, पर्सामा मोटरसाइकल चोरी भएका निवेदनहरूको चाङ लागेको छ। बीमा कम्पनीहरू चोरी भएका मोटरसाइकलहरूको बीमा दिंदादिंदै हैरान छन्। केही बीमा कम्पनीले मोटरसाइकलको बीमा गर्नसमेत मानिरहेका छैनन्।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर