राधेश्याम पटेल
वीरगंज
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले सम्पूर्ण नेपाली समाजलाई नै झस्काएको छ । ७१ वर्षिय नेम्वाङ एक दिन अघि एकदम ठिक थिए,स्वस्थ पनि । तर अचानक कसरी मृत्यु भयो भनेर सबैले प्रश्न गरिरहेका छन् । त्यसैगरी,केही दिन अघि पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको पनि मृत्यु यस्तै रोगको कारण भएको थियो । त्यसैगरी वीरगंजका पत्रकार स्व. नरेश सर्राफको पनि यस्तै रोगले अचानक मृत्यु भएको घटना सबैलाई थाहा भएको कुरा हो ।
पछिल्लो समय अचानक मृत्यु हुनेको खबर समाजिक सञ्चाजमा धेरै देख्न थालिएको छ । आखिर हृदयघात भनेको के हो त ? यसै सन्दर्भमा वीरगंजको एक कार्यक्रमलाई जोडन सकिन्छ । चार दिन अघि वीरगंजमा भारतीय चर्चित चिकित्सकहरुले यस्तो रोगबारेमा जनचेतनामुलक कार्यक्रम नै गरी परामर्श दिए ।
भारत,बिहारको राजधानी पटनामा सञ्चालित जयप्रभा मेदान्ता सुपर स्पेस्यालिटी हस्पिटलका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अजय सिन्हाले हृदयघातलाई बडो बुझने किसिमले वर्णन गर्दै जानकारी दिए । उनले हृदयघातबाट बच्ने एक मुलमन्त्र भनेको चिन्ता र तनावबाट टाढा रहनुलाई नै सुझाव दिदै भने ‘हामीले आजको समयमा निधै तनावपूर्ण जीवन बाचिरहेका छौं,यसले कहि न कहि विभिन्न रोगलाई निम्ता दिइरहेको छ ,संचेत हुनु पर्छ ।
हृदयघातमा दुई वटा मेडिकल टर्म खुब सुनिन्छ । एक हार्ट अट्याक र अर्को कार्डियक अरेस्ट । रक्तनलीमा बोसोको मात्रा थुप्रिएर रक्तसञ्चार ब्लक हुनु भनेको हार्ट अट्याक हो भने हार्ट अट्याक भएर मुटुको चाल रुक्नु काम गर्न छोडनु भनेको कार्डिक अरेस्ट हो भनी उनको भनाई थियो । उनले खानपान,शारीरिक व्याम,जीवनशैलीमा सुधार गर्दा यो रोगबाट बच्न सकिने बताए । क्लिनिकल कार्डियोलोजी एन्ड रिसर्च हार्ट इन्स्टिच्युट पटनाका निर्देशक समेत रहेका डा. सिन्हाले वीरगंजका सहभागीहरुलाई सिपीआर सम्बन्धी प्रशिक्षण पनि दिए ।
नेपाल युवा उद्यमी मञ्च वीरगंज (एनवाइईएफ वीरगंग) को सहकार्य एवं नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजको आयोजनामा दियालो लर्ड्स प्लाजा होटेलमा सम्पन्न कार्यक्रममा विभिन्न सङ्घ संस्थाबाट आमन्त्रित प्रतिनिधिलाई डा. सिन्हा र उनीसँगै आएको विशेषज्ञ चिकित्सकहरूको समूहले सिपीआर सम्बन्धी सैद्धान्तिक जानकारी गराउनुका साथै डम्मीको सहयोगले सीपीआर गर्ने तरिकाका बारेमा प्रशिक्षण गरेका थिए ।
कुनै कारण वा रोगले गर्दा अचानक मुटु चल्न बन्द भए बाहिरबाट मुटु थिचेर रगत पम्प गराउनका लागि आपत्कालमा गरिने उपायलाई सिपीआर भनिने डा. सिन्हाले बताए । मानिसको मस्तिष्कमा पर्याप्त मात्रामा रगत र अक्सिजन नपुगेको खण्डमा आपत्कालका लागि सिपीआरले मुटुको सञ्चालन गर्नुका साथै आंशिक रूपमा मस्तिष्कसम्म रगत र अक्सिजन पु¥याउने काम गर्ने गरेको उनले बताए । उनले भने, ‘मस्तिष्कमा चार मिनेटसम्म रगत नपुग्दा त्यसका कोषहरू मर्न थाल्छन् र सात मिनेटसम्म पनि नपुगेमा पूर्णरूपमा मारेर मान्छेको ज्यान समेत जान सक्छ । त्यसैले मस्तिष्कलाई बचाइराख्न र मुटुको चाल ठिक गर्न सिपीआर गरिन्छ ।’
आपत्कालको समयमा कुनै पनि व्यक्तिको ज्यान जोगाउन सिपीआर महत्त्वपूर्ण रहेको भन्दै डा. सिन्हाले प्रत्येक व्यक्तिलाई यसको बारेमा प्रशिक्षण दिन आवश्यक रहेको बताए । सिपीआर गर्न जाने बर्सेनि हजारौँ व्यक्तिलाई मृत्युको मुखबाट जोगाउन सकिने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका पूर्वअध्यक्ष गणेश प्रसाद लाठ, नेपाल मेडिकल एसोसीएससन नारायणी क्षेत्रका प्रमुख डा. मनोज गुप्ता, मस्कुलोस्केलेटल डिसअर्डर र अर्थोपेडिक्स संस्थान पटनाका निर्देशक तथा वरिष्ठ परामर्शदाता डा. सन्तोषकुमार सिंह, सीटीभीएस कार्डियाक सर्जरी हार्ट इन्स्टिच्युट पटनाका निर्देशक डा. सञ्जय कुमार, न्युरोसर्जन इन्स्टिच्युट एन्ड न्युरोसाइन्सेस पटनाका निर्देशक तथा विभाग प्रमुख डा. मुकुन्द प्रसाद र मेडिकल एन्ड हेमाटो अनकोलोजी क्यान्सर इन्स्टिच्युट पटनाका डा. अमरेन्द्र अमर लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
एनवाइईएफ वीरगंजका अध्यक्ष सन्दीप अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा जयप्रभा मेदान्ता सुपर स्पेस्यालिटी हस्पिटल र एनवाइईएफ, वीरगंज साइकीलिङ क्लब, राउण्ड टेबल नेपाल, वुमन्स क्रिएसन र फोर जी आर समूह बिच छुट सम्बन्धी सम्झौता पनि भएको थियो । सम्झौता गरेका संस्थाका सदस्यहरूले अस्पतालमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्ने छन् ।