एजेन्सी,मुम्बई
भारतीय फिल्मका दुई दिग्गज अभिनेता अमिताभ बच्चन र रजनीकान्त ३२ वर्षपछि एउटै फिल्ममा देखिने भएका छन् । मिडिया रिपोर्टका अनुसार अमिताभ बच्चनले रजनीकान्तको आगामी फिल्म ‘थलाइवर १७०’मा केमियो गर्न सक्छन् । रजनीकान्त जेलरको सफलतापछि रजनीकान्त निर्देशक टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’ मा देखिनेछन् । यो फिल्म रजनीकान्तको करिअरको १७० औं फिल्म हो र अर्को वर्ष रिलिज हुनेछ । फिल्ममा अमिताभ बच्चनसँगै तमिल अभिनेता सूर्याको केमियो पनि देख्न सकिन्छ ।
विवरण अनुसार यसअघि फिल्म निर्माताले पीएस–२ अभिनेता विक्रमलाई फिल्ममा केमियो रोल अफर गरेका थिए । तर अब यो भूमिका बिग बीलाई अफर गरिएको छ । यद्यपि, यसबारे आधिकारिक पुष्टि भने आउन बाँकी छ । अमिताभ बच्चन र रजनीकान्त पछिल्लो पटक सन् १९९१ को एक्सन ड्रामा ‘हम’मा सँगै देखिएका थिए । रिपोर्टका अनुसार ‘थलाइवर १७०’ सत्य घटनामा आधारित फिल्म हुनेछ । फिल्मलाई लाइका प्रोडक्सनले निर्माण गर्दैछ । फिल्ममा अनिरुद्ध रविचन्द्रले संगीत दिनेछन् । फिल्ममा रजनीकान्त प्रहरी अफिसरको भूमिकामा देखिनेछन् । रजनीकान्त चाँडै नै निर्देशक नेल्सन दिलीप कुमारको फिल्म जेलरमा देखिनेछन् । यस फिल्ममा मलयालम अभिनेता मोहनलाल र ज्याकी श्राफ पनि देखिनेछन् ।
यो फिल्म यसै वर्ष प्रदर्शन हुने जनाइएको छ । यससँगै रजनीकान्त आफ्नी छोरी ऐश्वर्याको फिल्म ‘लाल सलाम’मा केमियो रोलमा देखिनेछन् । यसैबीच, अमिताभ बच्चन चाँडै फिल्म ‘प्रोजेक्ट’मा देखिनेछन् । यो फिल्मका निर्देशक नाग अश्विन हुन् । फिल्ममा दीपिका पादुकोण र प्रभास पनि देखिनेछन् । अनलाइनखबरबाट सभार