ड्राईपोर्टबाट १० वटा कन्टेनर चोरी प्रकरण,श्रीएयरलाइन्सले बनायो अफिस

पढ्न छुटाउनुभयो ?

वीरगंज
विदेशबाट सामान आयात गर्दा कन्टेनर प्रयोग हुन्छ । कन्टेनरमा रहेको सामान भन्सारमा जाँचपास गरिन्छ । भन्सारबाट कहिलेकाहीँ सामान हराउने गरेका घटना व्यापारीका लागि नौला होइनन् । बेलाबेला त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटै यात्रुको लगेज चोरी भएको सुनिन्छ । तर वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सारबाट त कन्टेनर नै चोरी भएको छ । त्यो पनि एउटा होइन, १० वटा । हो, गत असार २२ देखि साउन १० गतेको बीचमा अन्तर्राष्ट्रिय सिपिङलाइन कम्पनी मक्र्सलाइनका १० वटा खाली कन्टेनर चोरी भएको हो । चोरी भएका कन्टेनरमध्ये ६ वटा २० फुटे र ४ वटा ४० फुटे हुन् ।
सुक्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा निजी क्षेत्रको कम्पनी प्रिस्टिन भ्याली प्रालिलाई छ । त्यसमा नेपाली र भारतीय साझेदारको लगानी छ । गत साउन १९ गते थप दुई वटा कन्टेनर सडकमार्गबाट निर्यात गरिने भन्सारले प्रिस्टिनको व्यवस्थापनलाई जानकारी गराएपछि खोजी गर्दा चोरी पत्ता लगेको हो ।

यो विषय प्रहरीमा पुग्यो । प्रहरीले प्रिस्टिनका कस्टम रिलेसन म्यानेजर विक्रमप्रताप सिंहलाई नियन्त्रणमा लियो । भन्सार कार्यालयको नजिकैको सिर्सिया प्रहरी चौकीको हिरासतमा एक रात राखेर सिंहलाई छोडियो । उनीमाथि कुनै कारबाही भएन । त्यसपछि उनी फरार भए । उनी भारतको झारखण्डका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीले चोरीमा संलग्न कर्मचारीलाई प्रिस्टिन भ्यालीले भगाएकाले छानबिनमा ढिलाइ भएको बताए ।

चोरी प्रकरण बाहिर आएपछि मक्र्सलाइनले सुक्खा बन्दरगाह नाकासम्म कन्टेनर उपलब्ध गराउन बन्द गरेको छ । ‘चोरिएका कन्टेनर फिर्ता हुनुपर्ने सर्त उसले राखेको छ । मक्र्सलाइनले जबसम्म चोरीको केस सुल्झिँदैन तबसम्म कन्टेनर नेपालका लागि नपठाउने चेतावनी दिएको छ,’ प्रिस्टिनका एक कर्मचारीले भने । प्रिस्टिनका कस्टम रिलेसन म्यानेजर सिंहले कन्टेनर एपेक्स कार्गोलाई बेचेको खुलेको छ । कार्गोका सन्तोष पटेलले सिंह प्रिस्टिनका कर्मचारी भएकाले कन्टेनर खरिद गरेको बताए । उनले २० फुटे कन्टेनर १ लाख ५० हजार र ४० फुटे कन्टेनर २ लाख १२ हजारका दरले किनेको जानकारी दिए । ‘स्क्रयाप कन्टेनर प्रिस्टिनले बेच्दै छ भन्ने जानकारी पाएर हामीले खरिद गरी एक नम्बर गेटबाट ल्याएका हौं । यसमा हाम्रो दोष छैन,’ पटेलले भने ।

कार्गोले कन्टेनर आफूसँग राखेन, बेच्यो । २० फुटे कन्टेनर १ लाख ८५ हजार र ४० फुटे २ लाख ४० हजारका दरले बिक्री ग¥यो । कार्गोले नेपाल सिपिङ एण्ड एयर लजिस्टिक कम्पनीलाई बेचेकामा उक्त कम्पनीले दुई वटा कन्टेनर श्री एयरलाइन्सलाई बिक्री गरेको खुलेको छ । श्री एयरलायन्सले कन्टेनरलाई एसी जडान गरी त्रिभुवन विमानस्थलमा अफिसका रुपमा प्रयोग गरिरहेको छ । यसका लागि उसले १० लाखभन्दा बढी खर्च गरेको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले कन्टेनर भ्याट बिलसहित खरिद गरी आवश्यकताअनुसार प्रयोग गरिरहेको बताए । ‘चोरीको भन्ने जानकारी पाएपछि फिर्ता गर्न चाहेका छौं तर हाम्रो पैसा फिर्ता हुनुप¥यो,’ उनले भने ।
एउटा कन्टेनर भने वीरगंजका विशेश्‍वरसाद चौधरीको कम्पनीले बाराको सिमरानजिक डुमरबानामा राखेको छ । घटना प्रहरीमा पुगेपछि यसबीचमा प्रिस्टिनले एपेक्स कार्गोका प्रतिनिधिसँग कन्टेनर फिर्ता गराउन छलफल ग¥यो । कम्पनीले ७ वटा कन्टेनर भने फिर्ता गराइसकेको छ । ‘चोरीका १० मध्ये ७ कन्टेनर फिर्ता भएको छ । बाँकी ३ वटा फिर्ता गराउन हामी संवादमा छौं,’ प्रिस्टिन भ्यालीका कमर्सियल अफिसर विकास शर्माले भने ।
भन्सार प्रमुख डा. रामप्रसाद मैनालीले बन्दरगाहको हाताबाट कन्टेनर चोरी हुनु निकै दुःखद भएको बताए। ‘यो घटना मेरो सरोकारको त होइन। म अहिले बिदामा छु,’ मैनालीले भने, ‘तर घटना प्रकाशमा आएपछि ड्राइपोर्टबाट निस्किने हरेक कन्टेनरको गेट पासमा भन्सारको छाप अनिवार्य गरेका छौं।’ कन्टेनर फिर्ताका लागि आफूले श्री एयरलायन्सका पदाधिकारीसँग कुराकानी गरेको उनले बताए । मैनालीले चोरी आफ्नो सरोकारको विषय होइन भने पनि यो प्रकरणले भन्सारको सुरक्षामाथि भने प्रश्न उठेको छ ।

 

Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर