राहुल गुप्ता
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा कार्यपालिका बैठकको लागि सामुहिक माग गरिएको छ । सखुवाप्रसौनी गापाको बैठकको माग गर्नेमा सखुवाप्रसौनीकी उपाध्यक्ष शर्मिला बिष्ट ,वडा नं २ का वडा अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा नं ३ का वडा अध्यक्ष मोजामिल अंसारी ,वडा नं ५ का वडा अध्यक्ष अशेश्वर प्रसाद यादव , वडा नं ६ का वडा अध्यक्ष मुन्ना प्रसाद कम्कर रहेका छन् । त्यस्तै, कार्यपालिका सदस्यहरु महादेव प्रसाद साह कलवार , लालबाबू उराव, श्रीकान्ती देवि थरुइन रहेका छन ।
गापाका ९ जना जनप्रतिनिधिले लिखित रुपमा निवेदन पेश गरि बैठकको माग गरेता पनि अहिले सम्म बैठक बोलाइएको छैन । सखुवाप्रसौनी गाउपालिका अध्यक्ष यशवन्त यादवको मनोमानीको कारण बोर्ड बैठक नबोलाइएको आरोप लगाइएको छ । गापा भित्र भ्रष्टाचार र अनियमितताले चरम सिमा नाघेपछि गापा उपाध्यक्ष, वडाध्यक्षहरु र सदस्यहरु गाउँसभा बहिस्कार गर्दै बोर्ड बैठकको माग गरेका हुन् । सो बैठकमा गापाका पछिल्लो आवको हिसाब किताब पेश गर्न,अनावश्यक कर्मचारी हटाउन ,इन्धन खर्च र विकास बजेट खर्चमा मेयरले गरेको भ्रष्टाचार बारे जाचबुझको माग समेत गरेका छन् । गापा अध्यक्षले आफुहरुको मागलाई वेवास्ता गर्दा दुई तिहाइ बहुमत सदस्यका साथ बैठक अह्वानको गरेको बताएका छन् ।
अहिले सखुवाप्रसौनी गाउँपालिकालाई व्यवस्थित तरिकाले संचालन गर्न तथा विभिन्न विषयमा छलफल गर्न अति आवश्यक रहेकोले दुई दिन भित्र बैठकको माग गरिएता पनि अध्यक्षले खासै ध्यान नदिएको जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । जनप्रतिनिधिहरुले आफ्नो प्रस्तावहरुमा राजनीतिक रुपमा लागेका कर्मचारीलाई कारवाही गर्न माग गरेका छन । गाउँपालिकामा भएको सवारीको अनधिकृत रुपमा भएको प्रयोग रोक्न, जेसिबीको अनधिकृत प्रयोग रोक्न,ज्यालादारी कर्मचारीको सम्बन्धमा,प्रदेश सरकारबाट प्राप्त अनुदान, विशेष र समपुरक अनुदानको बारेमा विवरण माग गरिएको छ ।
गापा अध्यक्ष यशवन्त यादवको हेपाहा प्रवृतिको ९ जना जनप्रतिनिधिले विरोध गरेका छन् ।
त्यसैगरी, सखुवाप्रसौनी गापाका नागरिक समाजले सुचना माग गर्दा अहिले सम्म उपलब्ध गराइएको छैन । गत चैत २८ मा नै निवेदन पेश गरी सुचना माग गरिएकोमा अहिले सम्म उपलब्ध नगराइएको स्थानीय सूचना माग गर्ने गिरिराज कडेलले बताए । धेरै दिन सम्म सुचना उपलब्ध नगराउनु गाउँपालिकामा ठूलो भ्रष्टाचार भइ रहेको गाउँलेको अशंका छ । कुन शीर्षकमा कति खर्च ग–यो सोको सूचना माग गरे तापनि गाउँपालिकाका कर्मचारीहरुले सूचना लुकाएको उनको आरोप छ । सूचना मागको लागि हाल सम्म ४ वटा निवेदन आए तापनि एउटा निवेदनको सूचना नदिइएको बताइएको छ ।