वीरगंज, ४ भदौ । नेपालमा सिमेन्ट उत्पादनको लागि अग्रणी औद्योगिक कोरिडोरको रूपमा वीरगंजलाई चिनिन्छ । ऋद्धिसिद्धि समूह अन्तर्गतको विश्वकर्मा सिमेन्ट नेपालकै पहिलो ग्रान्डिङ उद्योग हो, जुन वीरगंज–२१ लिपनीबिर्तामा सञ्चालित छ । त्यसपछि नारायणी, अम्बे, कलश, इन्टरनेशनल, शालिमार, शुभश्री जगदम्बा, एडभान्स, स्टार, रिलायन्स सुपरटेकलगायत करीब एक दर्जनभन्दा बढी सिमेन्ट उद्योग स्थापना भए ।
चुनढुङ्गालाई फोडेर क्लिङ्कर उत्पादन गर्ने युनिटेक सिमेन्ट प्रालि पनि जीतपुरको बजनीमा सञ्चालनमा आयो तर अहिले वीरगंज–पथलैया औद्योगिक कोरिडोर अन्तर्गतका सम्पूर्ण सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेका व्यवसायीहरू बताउँछन् ।
कोभिड महामारीपछि अर्थात् दुई/तीन वर्षदेखि वीरगंज कोरिडोरका सिमेन्ट उद्योगहरूले उत्पादन क्षमता घटाउँदै गएका र घाटामा सञ्चालन भइरहेका बताइएको छ । वीरगंजको कलश सिमेन्ट गत एक वर्षमा एक बोरा पनि बिक्री नभएको बताइएको छ । यस कोरिडोरका अन्य आधा दर्जन सिमेन्ट उद्योग प्रFयः बन्द छन् ।
“बजारमा माग छैन, सुचारु उद्योगहरूले कहिलेकाहीं न्यून उत्पादन गरिरहेका छन्,” वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल पटवारी अग्रवालले भने, “सरकारले गत जेठ १५ गतेको बजेट भाषणमा धेरै आश्वासन बाँडेको थियो । रुग्ण सिमेन्ट उद्योगलाई अनुदान दिन्छौं । भारतमा सिमेन्ट निकासी गर्ने नीति बनाउँछौं । तर कार्यान्वयन भएन ।” अर्बौंको लागतका नेपालका सिमेन्ट उद्योगहरू अहिले धराशयी हुने अवस्थामा छन् । सरकारले जबसम्म पूँजीगत खर्च बढाउँदैन, बजेट प्रवाह र सञ्चालनको लागि भरपर्दो नीति ल्याउँदैन, तबसम्म सिमेन्ट उद्योगको अवस्थामा सुधार नआउने उनले बताए ।
नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले नेपालमा कुल ६५ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेकामा २३ वटा क्लिङ्करमा आत्मनिर्भर भएका पूर्ण सिमेन्ट उद्योग हुन् भने ४२ वटा अरूबाट क्लिङ्कर खरीद गरी ग्रान्डिङ गरेर सिमेन्ट उत्पादन गर्ने उद्योग हुन् । तर पछिल्लो समय चिनियाँ लगानीको होङ्सी र हुवासिन सिमेन्ट उद्योग पश्चिम नेपालमा सञ्चालनमा आएपछि नेपाली लगानीका ससाना सिमेन्ट उद्योगको बजार चौपट भएको उनले बताए ।
सिमेन्ट उद्योगका जानकार महाप्रबन्धक ठाकुरले नेपाली उद्योगको क्षमता बर्सेनि अढाई करोड टन सिमेन्ट उत्पादन गर्ने भए तापनि सरकार गम्भीर नभएको जिकिर गरे । उनले भने, “नेपालमा वर्षमा एक करोड टन सिमेन्ट खपत हुने प्रक्षेपण गरिएकामा वर्षमा मुश्किलले ७०–८० लाख टन सिमेन्ट खपत भइरहेको छ । बाँकी सिमेन्ट गोदाममा थन्किएकाले सबै उद्योगले उत्पादन क्षमता घटाएको बताउँदै भारतका बिहार, उत्तर प्रदेश, पश्चिम बङ्गाल, उडिसालगायतका राज्यमा नेपाली सिमेन्ट निर्यात गर्न सरकारले नीति ल्याएमा मात्र नेपाली सिमेन्ट उद्योग उँभो लाग्नेछ ।”
नेपाली सिमेन्ट उद्योग चुनढुङ्गामा आत्मनिर्भर भएकाले भारतभन्दा कम लागतमा सिमेन्ट उत्पादन गरेर भारतमा बिक्री गर्न सकिने भएकोले भारतीय बजार अवसरको रूपमा लिन सरकारी पक्षलाई उनले सुझाव दिए । भारतमा अहिले मोदी सरकारले भौतिक पूर्वाधार निर्माणमा जोड दिएकोले हरेक वर्ष सिमेन्टको माग १०–१५ प्रतिशत बढिरहेको बताउँदै यो बेलामा नेपाल सरकारले भारतसँग समन्वय गरी नेपाली सिमेन्ट निर्यात गर्ने वातावरण मिलाउन सक्ने उनको भनाइ छ ।
नेपालमा क्लिङ्कर उत्पादनसहितका ठूला सिमेन्ट उद्योगहरूमा होङ्सी, शिवम्, हुवासिन, ऋद्धिसिद्धि, सर्वोत्तम, पाल्पा, सम्राट, एडभान्स, अर्घाखाँचीलगायत रहेका छन् । ठूला लगानीका सिमेन्ट उद्योगहरूले आक्रामक बजार नीति तय गरी डिलरहरूलाई सुनचाँदी, नगद, सवारीसाधनलगायतका उपहार दिएर न्यून क्षमताका उद्योगको बजारीकरण ध्वस्त पारेको साना सिमेन्ट उद्योगहरूको आरोप छ ।