
वीरगंज
यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजमा अचेल कर बुझाउनेको भीडभाड बढेको छ । दैनिक चार सयदेखि ६ सय सेवाग्राही आइरहेको कार्यालयले जनाएको छ । जबकी पहिले दैनिक ३ सयको हाराहारीमा सेवाग्राही आउँथे । चालु आव २०८०÷०८१ मा सवारी करमा लाग्ने जरिवान छुट भएपछि वर्षौदेखि कर नबुझाएका गाडीहरुको कर बुझाउन सेवाग्राहीहरुको सख्यामा वृद्धि भएको हो । यातायात सवारी शाखा कार्यालय मधेशप्रदेश सरकार मातहत भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालय हो ।
मधेश प्रदेश सरकारले चालु आवमा नविकरण फेल भएका सवारी साधनमा जरिवाना छुट गर्दै मात्रै नविकरण शुल्क तिरेपछि नविकरण गर्न सकिने बजेट भाषणमा व्यवस्था गरेपछि सवारी करमा प्रदेश भरी जरिवाना माफ भएको हो ।
तर सेवाग्राहीले सवारी साधनको नविकरण शुल्कमा नियमा अनुसार शुल्क तिर्नू पर्छ । नविकरण दस्तुुरमा गत आवभन्दा केही प्रतिशत वृद्धि गरिएको सूचि जारी भएको छ । गाडीको क्षमता अनुसार नविकरण दस्तुर निर्धारण भएको बुझिएको छ । कर बुझाउने सेवाग्राहीको सख्यमा वृद्धि भएपछि चालु आवमा राजस्व संकलनमा वृद्धि हुने आकलन गरिदैछ ।
गत आवमा १ अर्ब १९ करोड राजस्व संकलन
कार्यालय प्रमुख उमेश रेग्मीका अनुसार अघिल्लो आव २०७८÷७९ भन्दा गत आव २०७९÷८० मा राजस्व संकलनमा ह्रास आएको चर्चा गर्दै चालु आवमा राजस्व संकलन बढने दावी गरे । याताया व्यवस्था कार्यालय सवारी शाखाले गत आवमा रु २३ करोड ८५ लाख ५४ हजार कम राजस्व संकलन गरेको कार्यालयको तथ्याकले देखाएको छ । कार्यालयले गत आवमा रु १ अर्ब १९ करोड ४८ लाख १४ हजार राजस्व संकलन गरेको थियो भने सो भन्दा अघिल्लो आव २०७८÷०७९ मा उक्त कार्यालयले रु १ अर्ब ४३ करोड ३३ लाख ६८ हजार राजस्व संकलन गरेको थियो ।
कार्यालयले दिएको जानकारी अनुसार गत आवमा यातायात क्षेत्रको आम्दानी शिर्षकमा रु ६ करोड ३७ लाख ३५ हजार ४ सय ३६ ,प्रशासनिक दण्ड जरिवाना एवं जफत शिर्षकमा रु ९ हजार ४ सय ९६, बेरुजु ११ हजार ५ सय ४५, सवारीसाधन कर रु ९७ करोड ७१ लाख ४२ हजार ४५५ ,चालक अनुमति पत्र,सवारी दर्ता किताब सम्बन्धी दस्तुर रु १५ करोड ३९ लाख १५ हजार ८ सय ६८ गरी कुल रु १ अर्ब १९ करोड ४८ लाख १४ हजार ८ सय राजस्व संकलन भएको थियो ।
त्यसैगरी,अघिल्लो आव २०७८÷०७९ मा सवारी करमा रु १ अर्ब १७ करोड ७ लाख ४३ हजार २ सय ७०,चालक अनुमति पत्र,सवारी दर्ता किताब सम्बन्धी दस्तुर रु १८ करोड ३८ लाख ३८ हजार ५ सय ३०,यातायात क्षेत्रको आम्दानी रु ७ करोड ८६ लाख ७८ हजार ९ सय २०, प्रशासनिक दण्ड जरिवाना र जफतमा रु २६ हजार ९ सय ,बेरुजु रु ८१ हजार ३१० गरी कुल रु १ अर्ब ४३ करोड ३३ लाख ६८ हजार ९ सय ३० राजस्व संकलन भएको कार्यालयका लेखा शाखाका जितेन्द्रकुमार राउतले जानकारी दिए ।
गत आव सम्म कुल २९४५९ सवारी दर्ता
यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजमा गत्आव २०७९÷८० मा कुल २९ हजार ४ सय ५९ सवारी साधन दर्ता भएका छन् । गत आवमा बस ५९५,मिनीबस,मिनी ट्रक ५७,क्रेन,डो्जर,उक्साभेटर,ट्रक,टिपर गरी २४२ वटा,कार,जिप,भ्यान २७३,पिकअप,६९७,माइक्रोबस ३९ ,टेम्पो,इरिक्सा १९५१,मोटरसाइकल २७४८५,ट्रयाक्टर,पावर टिलर ७१४,उम्बुलेन्स १४, गरी कुल २९ हजार ४५९ वटा सवारी साधान दर्ता भएको कार्यालयले जनाएको छ । मुलुकको मुख्य प्रवेशद्वार भनेर चिनिने वीरगंजमा मधेश आन्दोलन र नाकाबन्दीपछि भैरहवा नाकाबाट सवारी साधान पैठारी गरी दर्ता गर्ने काम भएपछि वीरगंजमा नयाँ सवारी साधन दर्ताको सख्यामा कमी आएको छ । साथै,हेटौडा,चितवन,मधेश प्रदेशको अन्य जिल्लामा पनि सवारी साधन दर्ताको सेवा उपलब्ध भएपछि वीरगंजमा सवारी दर्ता सख्यामा कमी आएको कर्मचारीहरु बताउँछन् ।
मर्ज भएन सवारी र लाइसेन्स
संघीय भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले चालू आवदेखि लाइसेन्स र सवारी शाखा मर्ज गरी एउटै कार्यालय सञ्चालन गर्नू पर्ने निर्देशन दिए तापनि वीरगंजका यी दुई वटा कार्यालय हाल सम्म मर्ज भएर सञ्चालन हुन नसकेको बताइएको छ । सवारी शाखा प्रमुख उमेश रेग्मीका अनुसार सरकारको नीति भए तापनि हाल सम्म कसरी मर्ज भएर सञ्चालन गर्ने बारेमा परिपत्र नआएकोले अन्यौलको वातावारण रहेको बताए ।उनले हाल सम्म सवारी र लाइसेन्स छुटाछुटै शाखाबाट सेवा दिइरहेको चर्चा गर्दै सरकारको परिपत्र आएपछि एउटै कार्यालयको रुपमा अघि बढाउने आफुहरु पनि तयार रहेको बताए । ‘दुई वटा कार्यालय एउटै गाभेर सञ्चालन गर्दा कार्यालय प्रमुख तथा अन्य कर्मचारीको व्यवस्थापन कसरी मिलाउने,कार्यालय कहाँ सञ्चालन गर्ने, बारेमा केही टुगो लागेको छैन,’उनले भने,‘ यी सबै विषयमा माथिल्लो निकायले स्पष्ट तवरले खुलाएर परिपत्र गरेपछि हामीहरु त्यसरी नै अघि बढछौ । गत साउन १ गतेदेखि नै मर्ज गरी सञ्चालन गर्ने सरकारको निर्देशन एवं तयारी भए तपानि प्राविधिक तयारी पुरा नभएकोले मर्ज हुन नसकेको बताइएको छ ।