
वीरगंज
वीरगंज महानगरपालिकाका जनप्रतिनिधीहरुले पानीको समस्या समाधानका लागि संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवलाई गुहारेका छन् । बिहीवार वीरगंजमा आयोजित कार्यक्रममा सहभागी खानेपानी मन्त्री यादवसामु महानगरका ३२ वटै वडाका वडाअध्यक्षहरुले महानगरमा खानेपानीको चरम संकट पारेकाले तत्काल समस्या समधान गरिदिन गुहार लगाएका हुन् । वीरगंज महानगरमा दुई हप्ता यतादेखि ९० प्रतिशत चापाकल सुक्दा खानेपानीको संकटसंग महानगरवासी जुधिरहेका छन् ।
महानगरपालिकाले वडा वडामा ट्यांकरबाट पानी वितरण गरिरहेको छ । तर त्यसले पानीको संकट नटरेकाले स्थायी समधानका लागि बिहीबार वीरगंजमै खानेपानी मन्त्री यादवलाई बोलाएर महानगरपालिकाले छलफल कार्यक्रम गरेको थियो ।
उक्त कार्यक्रममा ३२ वटै वडाका वडाअध्यक्षहरुले पानीको चरम संकटले महानगरवासी त्राहिमाम भएकाले पानीको समस्या समधानका लागि मन्त्री यादवलाई गुहारे । वडाअध्यक्षहरुले महानगरका प्रायसबै चापाकलहरु सुकेर महानगरवासीले पिउने पानी समेत नपाउँदा कोरोना महामारीको भन्दापनि भयावह अवस्था सृजना भएको बतााए । वीरगंज २४ का वडाअध्यक्ष विजय कुर्मीले भने,‘ टोल टोलमा पानीको संकट छ , पानी बाँड्न ट्यांकर पुग्दा पालो थाप्न हानथाप हुन्छ , अहिले देखिएको पानीको संकट त कोरोना महामारीको भन्दापनि भयावह छ । वीरगंज ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले भने,‘ यस्तो भयावह अवस्था त कोरोना महामारीका बेला पनि थिएन , एक एक थोपा पानीका लागि मान्छेहरु ब्याकुल छन् , अहिलेको पानीको संकटले कोरोनाकालको भन्दापनि विकराल समस्या भएको छ ।
वीरगंज २६ का वडा अध्यक्ष शम्भु मिश्राले महानगरमा अहिले देखिएको पानीको संकट समाधान महानगरपालिकाको एक्लो प्रयासले सम्भव नभएकाले यसमा संघ र प्रदेश सरकारले अग्रसरता लिनु पर्ने बताए । उनले भने,‘ ट्यांकरबाट ओसारेर घरघरमा पानी बाँडिरहेका छौ ,राति १ बजेपछि मात्रै सुत्न पाइएको छ ।
वीरगंज महानगरका मेयर राजेशमान सिंहले महानगरका ३२ मध्ये २२ वटा वडा ९ वडा नम्बर १ देखि १७ र १९ मा रहेका ९० प्रतिशत चापाकल सुकेको जानकारी गराए । पानीको हाहाकारले संकट खेपिरहेका महानगरबासीलाई राहत दिन महानगरपालिकाले ठाँउ ठाँउमा डिप बोरिङ र सार्वजनिक धारा जडान गर्नुका साथै ट्यांकरबाट पानी वितरण गरिरहेको उनले बताए । तर महानगरपालिका भएको सिमित बजेट र श्रोत–साधनले थेग्न नसकिरहेकाले यसमा संघ र प्रदेश सरकारले तत्कालै अग्रसरता लिनुपर्ने उनले बताए । उनले मधेसलाई तत्काल ‘ सुख्खाग्रस्त क्षेत्र’ घोषणा गर्न संघ सरकारसंग माग पनि गरे ।
कार्यक्रममा खानेपानी संस्थानका वीरगंज शाखा प्रमुख नीरण महर्जनले कार्यालयमा नयाँ धारा जडान गर्न चाहने सेवाग्राहीको चाप एक्कासी बढेकोले जनशक्तिको कमीले समस्या भएको बताए । उनले भने,‘ पानीको समस्या सुरु भएपछि सेवाग्राहीको चाप बढ्यो , त्यसलाई मध्यनजर गरि जनशक्ति थप्नका लागि माथिल्लो निकायमा पत्रचार गरिसकेका छौ , अहिलेभने भएकै जनशक्ति र श्रोतसाधनको भरपुर उपयोग गरिरहेका छौ । दैनिक ३० देखि ४० वटा नयाँ धारा जडान गरिरहेको जानकारीपनि उनले गराए ।
पर्सा २ का प्रतिनिधी सभा सदस्य अजय चौरसियाले अर्थमन्त्री प्रकाशरण महतलाई नै भेटेर वीरगंजसहित पर्सा जिल्लामा निम्तिएको पानीको संकट समाधानका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिन आग्रह गरेको जानकारी गराए । संसद विकास कोषको रकम १ करोड भन्दा कमको योजनामा खर्च गर्न नपाउने संवैधानिक प्रावधानले समस्या भएको बताउदैं उनले भने,‘ त्यसमापनि संसद विकास कोष विरुद्ध सर्वोच्च अदालतमा मुद्धा परेको छ , त्यो मुद्धा छिनोफानो हुने बित्तिक्कै मैले मेरो संंसद विकास कोषको १ करोड रकम डिप बोरिङ जडानमा खर्च गर्ने घोषणा अहिलेनै गर्छु ।
उनले संस्थानमा सेवाग्राहीको चाप बढेकाले त्यसअनुसारको जनशक्ति तत्काल थप गरिदिन मन्त्री यादवसंग आग्रह गरे ।
पर्साका १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले वीरगन्जसहित मधेसमा अहिले भइरहेको पानीको संकट बारे आफुले संसदमा पटक पटक आवाज उठाएको बताए । यसका साथै प्रधानमन्त्रीसमेतलाई भेटेर ध्यानाकर्षण गराइसकेको उनले सुनाए । तर यति गर्दापनि संघ सरकार समस्या समाधानका लागि पहल गर्नुको सट्टा कानमा तेल हालेर बसेको गुनासो उनले गरे । उनले भने,‘ वीरगंजसहित मधेसमा अहिले पानीको हाहाकार छ , मधेसमाथि यत्रो बज्रपात पर्दापनि संघ सरकार कानमा तेल हालेर बसेको छ , आजपनि मधेसलाई हेर्ने संघ सरकारको नजर विभेदकारी छ ।
सुक्खाग्रस्त क्षेत्र घोषणा गराउछु–मन्त्री यादव
खानेपानी मन्त्री महेन्द्र यादवले सहभागीको गुनासो र समस्या सुनेपछि मन्त्रीपरिषद बैठकबाटै मधेस प्रदेशलाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गराउने प्रतिबद्धता व्यक्त गरे । पानीको संकटको सबैभन्दा बढि सामना गरिरहेकोे वीरगंज महानगरपालिका मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताउदै मन्त्री यादवले उपलब्ध साधन–श्रोत र बजेटले भ्याएसम्म महानगरको समस्या समाधानमा आफु लाग्ने बताए ।
उनले वीरगंजस्थित संस्थानको कार्यालयमा अन्य जिल्लाबाट जनशक्ति झिकाएर थप गर्ने र अहिले उपलब्ध जनशक्ति र साधन–श्रोतको भरपुर उपयोग गरेर सेवा प्रवाह गर्न कार्यक्रममा सहभागी संस्थानका अध्यक्ष , महाप्रबन्धक र शाखा प्रमुखलाई निर्देशनपनि दिए । उनले नयाँ धारा जडानको प्रकृया सहज र छिटोछरितो बनाउनपनि संस्थानका कर्मचारीलाई निर्देशन दिए ।