वीरगंज
वैदेशिक रोजागारको सिलसिलामा पर्साका एक युवकको मलेसियामा हत्या गरिएको छ । हत्या हुनेमा पर्सा,वीरगंज–३१ सोलखपुरका २८ वर्षिय गोविन्द्र चौधरी रहेका छन् । गत ७ जुलाईका दिन निजकै कोठामा बस्ने सिरहा गोलबजार बस्ने सुशिलकुमार महतोले धारिलो चक्कु प्रहार गरी बीभत्स हत्या गरेको परिवारजनले बताएका छन् । सुमित र गोविन्द वैदेशिक रोजगारीमा संगै मलेसिया गएको र संगै बस्दै आएका थिए । छ र तीन वर्षिया दुई छोरीका बुवा गोविन्दको ७ वर्ष पहिले विवाह भएको थियो ।
उनी वैदेशिक रोजगारको क्रममा ११ महिना अघि मलेसियाको मलाका सेन्टर शहरमा काम गर्न गएका थिए । काठमाडौंको संयोग ओभरसिजमार्फत मलेसियन मिन्टाका सर्भिसेज एसएचएन बिएचडी नामक उद्योगमा काम गर्न उनी मलेसियामा थिए । सोही उद्योगको क्वाटरमासंगै मेलेसिया आएका सिरहाका सुशिलले चक्कु प्रहार गरी हत्या गरेको खबरले परिवारजन स्तब्ध बनेको गोविन्दका काका रामाकान्त चौधरीले बताए ।
नेपाली साथी सुशिलले गत ७ जुलाई घर पैसा पठाउन सापटी मागेको र उनलाई पैसा नदिएको झोकमा हत्या गरी आफै २४ घण्टा फरार भएका थिए । घटनाको भोली पल्ट डियुटीमा नगएपछि गोविन्दको उद्योगले प्रहरीले खबर गरी उनको कोठा खानतलासी गर्दा उनको हत्या गरिएको अवस्थामा शव बरामद भयो । त्यसपछि मलेसियन प्रहरीले सुशिलको खोजी कार्य शुरु गर्दा उनी पक्राउ परेका छन् । उनको हत्यामा अन्य केही नेपाली युवकको संलग्नता रहेको मलेसियन प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनको हत्याको ११ दिन बिति सक्दा पनि शव नेपाल आउन सकेको छैन । कानुनी प्रकृया पुरा गर्दा केही समय लाग्ने भएकोले उनको शव नेपाल ल्याउन अझै एक साता लाग्ने वैदेशिक रोजगार विभागका अधिकारीहरुले परिवारजनलाई आश्वासन दिएका छन् । घटनाको बारेमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारवाहीको साथै आवश्यक क्षतिपूर्ती दिलाउन र शव नेपाल मगाउनको लागि पहल गरिदिन सरोकारवाला निकायलाई परिवारजनले अपिल गरेका छन् ।
पर्साका गोविन्दको मलेसियामा हत्या
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box