वीरगंज
पर्सा,बारा र रौतहट सम्म फैलिएको गण्डक नहरमा पानी आउन केही दिन लाग्ने भएको छ । भारतीय पक्षले पानी नछाडदा केही दिन समय लाग्ने भएको बताइएको छ । गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायाणी सिँचाईका सूचना अधिकारी एवं इन्जिनियर सुरेशप्रसाद साहका अनुसार भारतीय पक्षले भारतीय नहरमा मर्मत भइरहेकोले पूर्णरुपमा पानी छाडेको छैन । धान रोपाइँका लागि गण्डक नहरमा असार १५ मा पानी दिनुपर्ने नियम छ । चर भारतले पानी नदिदाँ पर्सा बाराका किसानको धान रोपाइँ प्रभावित भएको छ ।
भारतसँगको गण्डक सम्झौता अनुसार गहुँबालीको लागि पुस १ मा र धानबालीको लागि असार १५ मा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिइसक्नु पर्छ । भारतको झमरी नदीमा नहरको संरचनामा लिकेज भएको भन्दै हाल भारतीय पक्षले नहरको मर्मत सम्भारको काम गरिरहेको छ । यो स्थान नेपाल–भारत सीमाबाट करिब १२ किमी पश्चिममा पर्छ । हाल गण्डक नहरमा भारतीय पक्षले जम्मा २ सय क्युसेक पानी छोडेको छ । तर उक्त पानीले किसानको गर्जो टार्न नसक्नेमा नारायणी सिचाइँ व्यवस्थापन कार्यालय वीरगंजका प्रमुख मनोरञ्जन कुमार सिंहले बताए । एक साता भित्रै कम्तिमा गण्डक नहरमा ५ सय क्यूसेक पानी हामीलाई चाहिन्छ,भारतीय पक्षले चार,पाँच दिन भित्रै पानी जान्छ भनेका छन्,उनले भने । नेपालतर्फ भने मुख्य नहर प्रणाली तथा सहायक प्रणालीहरुमा मर्मत सम्भारको काम सम्पन्न भई अब नहरमा पानीको प्रतिक्षा मात्र गरिएको उनले बताए । नहरको मुख्य संरचनामा पर्सा, बारा र रौतहटमा गरी करिब २ दर्जन गेटको मर्मत सम्भार र परिवर्तनको काम सम्पन्न भएको उनले बताए ।
नहरमा बाराको जमुनीमा ४ वटा स्केप गेट परिवर्तन र रौतहटमा चेक गेट हेड रेगुलेटरको मर्मतको काम सम्पन्न भइसकेको उनले बताए ।पानीको अभावले धान रोपाइँ गर्न नसकेको पर्सा,वीरगंज–२१ पटेलनगरका रामप्रवेश पटेल बताउँछन् । उनले सबै किसान पानीको पर्खाइमा छन्,पानी आउने बितिकै रोपाई शुरु हुन्छ । आकाशे पानीले रोप्ने किसान पनि मनसुनी वर्षाको पखाईमा रहेको उनले बताए ।
गण्डक व्यारेजको निर्माण भारतले आफैं गरेको र सञ्चालन पनि भारतीय पक्ष आफैंले गर्छ । उसले व्यारेजबाट नेपालभन्दा भारतीय भूमिमा बढी पानी लैजाने गरेको छ । सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिँचित गर्ने लक्ष्य भए पनि वर्षेनि कुनै न कुनै समस्या देखाउँदै भारतले सम्झौता अनुरुपको ८ सय ५० क्युसेक पानी नेपाललाई दिँदैन । नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित व्यारेजबाट भारतीय पक्षले गण्डक नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमी दूरी हुँदै यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ ८१ किमी रहेको छ ।