राधेश्याम पटेल
वीरगंज
सरकारले जन्मसिद्ध नागरिकका सन्तानहरुलाई वितरण गरिरहेको प्रकृयामा सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ । मध्यतराईका जिल्लामा भद्रगोल व्यवस्थाको माध्यमले नागरिकता वितरण भइरहेकाले सेवाग्राहीहरुले सास्ती खेप्न बाध्य भएका छन् । पर्सा र बारका जिल्ला प्रशासन कार्यालयमा बुझ्दा सेवाग्राहीहरुले निकै दुःखकष्ट पाउनुपरेको गुनासो गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय(सिडिओ आफिस) ले बिना पर्याप्त तयारी बिनै नागरिकता वितरण गरिरहेको आरोप लगाइएको छ । हचुवाको तालमा सयौं सेवाग्राहीलाई घण्टौं लाममा लगाएर, प्रतीक्षा गराएर, सास्ती दिएर नागरिकता वितरण गरिएको उनीहरुले आरोप लगाएका छन् । कतिपयले तीन–चार घण्टा लाममा कुर्दासमेत काम नहुने गरेको र सुरक्षा अधिकारी र प्रशासनका अधिकारीको पहुँचको आधारमा घूसपैठियाहरुले चाँडै नागरिकता बनाइरहेको आरोप लगाए । एउटा नागरिकता प्राप्त गर्न अहिले सबैभन्दा पहिले अनलाइन टोकन लिनुपर्ने व्यवस्था छ । टोकन लिएपछि एक महीनापछि मात्रै सम्पर्क मिति र पालो पाइन्छ । तर गत शुक्रवार जिप्रका, पर्सामा लाम लागेर अफलाइन टोकन लिएका सेवाग्राहीहरुलाई चाँडै बोलाइएको पनि बताइयो । अहिले अफलाइन अर्थात् स्वयं कार्यालयमा पुगेर टोकन लिने व्यवस्था स्थगित गरिएको छ । अत्यधिक भीड हुनुको कारण एकजना सेवाग्राहीसँग घरपरिवारको तीन–चारजना सदस्यहरु आउँदा पनि भीड बढेको जिप्रकाका अधिकारीहरु बताउँछन् । जिप्रका, पर्साका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सरकारले निर्देशन गरेअनुरुप कार्यालयसँग भएको स्रोत–साधन उपयोग गर्दै सेवा दिइरहेको बताए । उनले आइतवार १२१ जनाले नागरिकता पाएको र आगामी दिनमा यो सङ्ख्या बढ्दै जाने बताए। पर्सामा १३ हजारको हाराहारीमा जन्मसिद्ध नागरिक छन् । त्यसको आधारमा पर्सामा करिब २०–२२ हजारको सङ्ख्यामा नागरिकता बन्ने आकलन छ । यसरी छ महीनासम्म पनि नागरिकता बनाउने काम चल्न सक्ने दावी गरिदै छ । सेवाग्राहीहरुले कार्यालयमा भीड हुन नदिन मूलगेटमा सम्बन्धित व्यक्तिलाई मात्र प्रवेश गर्न दिने, पालो परेकाहरुलाई माइकिङ गरी बोलाएर सेवा दिन आग्रह गरे । सेवाग्राहीले वीरगंजसहित पर्साको अन्य स्थानमा सेवा केन्द्र स्थापना गरी नागरिकता वितरण गर्नू पर्ने माग गरेका छन् । नागरिकता वितरणलाई सहज, सरल र व्यवस्थित बनाउँदा दैनिक घण्टौं लाममा लाग्नुपर्र्ने समस्याबाट मुक्ति मिल्ने बताइएको छ ।
Facebook Comments Box