
एजेन्सी
भारतमा आगामी वर्ष आम चुनाव हुँदैछ । दलहरू चुनावको तयारीमा जुटिसकेका छन् । दलहरू चुनावी रणनीति बनाउ लागिसकेका छन् । २०१४ देखि सत्तामा रहको भारतीय जनाता पार्टी (बीजेपी) लाई आगामी चुनावबाट सत्ताबिहीन बनाउन विपक्षी दलहरू एकजुट बन्ने देखिएको छ । कांग्रेस आईलगायत १५ विपक्षी दलहरू बीजेपीविरुद्ध एकजुट भएर आगामी चुनावमा जान सहमत भएका छन् । भारतीय समाचार माध्यमहरूका अनुसार शुक्रबार बिहारको पटनामा १५ विपक्षी दलका प्रमुख तथा विभिन्न राज्यका मुख्यमन्त्रीहरूको महाबैठक भएको छ । सो बैठकमा एकजुट भएर चुनावमा जाने सहमति भएको भारतीय समाचार माध्यमहरूले जनाएका छन् ।
विपक्षीहरूलाई एक मञ्चमा ल्याउन जेडीयूका प्रमुख तथा बिहारका मुख्यमन्त्री नितिश कुमारले अभियान चलाएका थिए । त्यसैले विपक्षीहरूको पहिलो महाबैठक पनि उनलै मुख्यमन्त्री निवासमै आयोजना गरेका थिए ।
शुक्रबार बैठकपछि संयुक्त पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा मुख्यमन्त्री नितिश कुमारले आगामी चुनावमा एक भएर जाने सहमति भएको जानकारी दिएका छन् । उनले विपक्षीहरूको अर्को महाबैठक आगमी जूलाई १२ मा कांग्रेस शासित राज्य शिमलामा गर्ने सहमतिसमेत भएको छ । महाबैठकमा अरविन्द केजरिवाल, भागवन्त मान, ममता बनर्जी, एमके स्टालिनलगात ६ राज्यका मुख्यमन्त्री, अखिलेश यादव, उद्धव ठाकरे, महबुबा मुफ्तीलगायत पाँच राज्यका पूर्वमुख्यमन्त्री, कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गे र राहुल गान्धी, राष्ट्रवादी कांग्रेसका प्रमुख शरद पवार, आरजेडीका तेजश्वी यादवलगायतका नेताहरूको सहभागिता थियो । यो महाबैठकमा १५ विपक्षी दल सहभागी छन् ।
विपक्षीहरूको अर्को बैठकमा सिट बाँडफाँटबारे छलफल हुने बताइएको छ । शुक्रबार बैठकमा कांग्रेस आईका नेता राहुल गान्धीले बाहिर एक र भित्र अर्को हुनेगरी बैठक हुन नहुने भन्दै सबै मनदेखि नै एकजुट भएर भाजपाविरुद्ध लड्नुपर्ने बताएका छन् । शिलापत्र डटकमबाट ।