काठमाडौं
भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्ने नेपालको बाटो टुंगिएको छ । जिम्बावेमा जारी विश्वकप छनोटमा नेपालले समूहको आफ्नो चार खेलमध्ये तीनवटामा हार ब्यहोरेसँगै नेपालको विश्वकप पुग्ने बाटो टुंगिएको हो । शनिवार जिम्बावेको टाकासिंगा स्टेडियममा सम्पन्न खेलमा ७ विकेटको पराजय ब्यहोरेसँगै नेपाल सुपरसिक्समा पुग्ने सम्भावना टुंगिएको हो । समूह ’ए’ बाट नेपाल र अमेरिका बाहिरिँदा जिम्बावे, वेस्टइण्डिज र नेदरल्याण्ड्स सुपर सिक्समा पुगेका छन् । टस हारेर नेदरल्याण्ड्स विरुद्ध उत्रिएको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । नेदरल्याण्ड्सलाई लक्ष्यसम्म पु¥याउन ओपनर म्याक्स ओडउडले सर्वाधिक ९० रन बनाउँदा विक्रमजित सिंहले ३० तथा विस्ले बरेसीले ३ रन बनाए । त्यस्तै बस डी लीडे ४१ रनमा र तेजा निदमनुरु २ रनमा अविजित रहे। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ विकेट लिँदा गुलसन झाले एक विकेट लिए ।
नेपालको इनिङ्स
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो । ओपनर आशिफ शेख २.२ ओभरमा डक आउटहुँदा पहिलो धक्का ब्यहोरेको नेपालले आफूलाई सम्हालिने अवसर नै सिर्जना गर्न सकेन । उनलाई लोगन भान विकले बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल १४.२ ओभरमा २७ रन बनाएर विक्रम जितसिंहको बलमा स्कट एडवार्ड्सबाट क्याचआउट भए । तेस्रो विकेट आरिफ शेखको गुम्यो । स्वभाविक भन्दा माथिल्लो क्रममा आएर ब्याटिङ गरेका उनी १६.१ ओभरमा सिंहकै वलमा भान विकबाट क्याचआउट हुन पुगे । चौथो विकेट भीम सार्कीको गुम्यो । १८.१ ओभरमा २२ रन बनाएर खेलिरहेका सार्की क्लाटन फ्लोयडको बलमा क्याचआउट भए । उनी आउट हुँदा नेपालको स्कोरबोर्डमा ४ विकेट गुमाएर ५५ रन थियो । पाँचौँ विकेट २५.२ ओभरमा कुशल मल्लको गयो । १२ रन बनाएर खेलिरहेका उनी आर्यन दत्तको बलमा विकेटकिपर एडवार्ड्सबाट क्याचआउट भए । भान विकेले छैटौँ विकेटका रुपमा कप्तान रोहितकुमार पौडेलको विकेट लिएपछि नेपालको ब्याटिङ पूर्णतय संकटतर्फ मोडियो । उनी ३१.१ ओभरमा ३३ रन बनाएर आउट हुँदा नेपालको स्कोर बोर्डमा ६ विकेट गुमेर मात्र ११६ रन थियो । अर्का अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी १४ रन बनाएर ३३.५ ओभरमा भान बिकको बलमा एडवार्ड्सबाट क्याचआउट हुन पुगे ।
त्यसपछि आएका सन्दीप लामिछानेले गुलसन झासँग मिलेर ३२ रनको साझेदारी गरे । तर, झा ४१.२ ओभरमा १५ रन बनाएर आउट हुँदा नेपालको स्कोर उकास्ने जिम्मेवारी लामिछानेमाथि आयो । गुलसन पछि आएका करण केसी पनि ३ बलमा १ रन बनाउँदै ४१.६ ओभरमा क्याचआउट भए । ४४.३ ओभरमा क्याच आउट भएका लामिछानेले २७ रन बनाए । बलिङतर्फ नेदरल्याण्ड्सका लोगान भान बिकले सर्वाधिक ४ विकेट लिँदा बस डी लीडे र विक्रम जितसिंहले समान २ विकेट लिए । त्यस्तै क्लेटन फ्लोयड र आर्यन दत्तले समान १ विकेट लिए । ब्याटिङमा कप्तान पौडेलले सर्वाधिक ३३ रन बनाउँदा कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन बनाए । त्यस्तै भीम सार्कीले २२ रन बनाउँदा गुलसन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन बनाए । कुनै पनि नेपाली ब्याट्सम्यानले नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गर्न सकेनन् भने सबैभन्दा ठूलो साझेदारी नै कुशल भुर्तेल र भीम सार्कीबीच ३९ रनको बनेको थियो ।
सभारःपहिलोपोस्ट डट कम