वीरगंज, १ असार/
वीरगंजको धार्मिक, ऐतिहासिक गहवामाईको नयाँ संरचना एवं आधुनिक मन्दिर निर्माण भएको ११ वर्षको अवसर पारी वीरगंजमा पहिलोपटक रथयात्रा निकाल्ने भएको छ । असार ५ गते बिहान ६ बजेदेखि ९ बजेसम्म वीरगंज नगरभित्र रथयात्रा निकाल्ने तयारी भएको आयोजक श्रीगहवामाई रथयात्रा समितिका महासचिव लक्ष्मीनारायण गुप्ताले जानकारी गराए ।
यो रथयात्राको तयारी एक महीना पहिलेदेखि भइरहेको छ । भारत एवं नेपालका १० जना कामदारहरु बिहान ५ बजेदेखि राति ११ बजेसम्म रथ बनाउने काममा जुटेका छन् । रथ निर्माणमा ३६० वटा घण्टी, काठ खर्च भएको र काठ, ज्याला–मजदूरी, रङरोगन लगायत अन्य सामग्री गरी कूल २० लाख खर्च पर्ने उनले बताए ।
त्यसैगरी रथयात्राको भोलिपल्ट असार ६ गते बिहान ५६ भोगको प्रसाद वितरण एवं साँझ ५ बजे गहवामाई मन्दिर परिसरमा आउने हजारौं श्रद्धालु भक्तजनलाई प्रसाद वितरण गर्ने (भण्डारा) चलाउने कार्यक्रम रहेको आयोजक समितिको तयारी छ ।
कूल खर्च जोड्दा करीब ३५ लाख खर्च हुने बताइएको छ । वीरगंजलाई धार्मिक पर्यटकीय स्थल बनाउनको लागि दक्षिण भारतको उडिसामा रहेको जगरनाथपुरीको रथयात्रा परम्परालाई वीरगंज महानगरमा पहिलोपटक अवलम्बन गर्न लागिएको हो ।
रथयात्राको रुटबारे अन्तिम निर्णय हुन बाँकी रहे तापनि प्रFरम्भिक चरणमा रथको उचाइँ १५ फिट भएकोले गहवामाई मन्दिरबाट दुई नम्बर रोड हुँदा बिर्तामाई मन्दिरसम्म र त्यसपछि मुख्य सडक हुँदै घण्टाघरको परिक्रमा गरी पुनः गहवामाई मन्दिर परिसरमा पुगेर टुङ्गिने बताइएको छ ।
रथयात्रामा २५ हजार श्रद्धालु भक्तजनहरुको सहभागिता हुने अनुमान गरिएको छ । समितिका अध्यक्ष श्याम पोखरेल, उपाध्यक्ष्Fमा देवनाथ कलवार, महासचिव लक्ष्मीनारायण गुप्ता, कोषाध्यक्षमा रवि अग्रवााललगायत ३१ सदस्यीय समिति चयन भएको छ ।
रथयात्राको खर्चमा गहवामाई मन्दिर वडा नं ६ लगायत अन्य सङ्घसंस्थाहरुले सहयोग गरेका छन् ।