बुटवल । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ । निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट मंगलबार बिहान ८ः४५ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । निगमको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किराती आफै विमानस्थलमा पुगेर स्वागत गरेका थिए । जहाजले मलेसियाबाट भैरहवा आएका ३५ जना यात्रुहरुलाई छाडेर काठमाडौं फर्किएको छ । निगमले हरेक हप्ता मंगलबार मलेसियादेखि भैरहवा काठमाडौं उडान नियमित गर्ने जनाएको छ । मलेसियाबाट भैरहवाको उडान समय करिब ४ घण्टा ४५ मिनेटको रहनेछ । निगमले जेठ पहिलो साता मलेशिया–भैरहवा उडानको घोषणा गर्दै सुरूमा प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रूपैयाँ घोषणा गरेको थियो । अहिले मलेसिया–भैरहवा ३१ हजार र मलेसिया काठमाडौं ५६ हजार रूपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको निगमले जनाएको छ । निगमले काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं रूटअन्तर्गत साताको एक दिन मंगलबार उडान गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए । उनका अनुसार निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौंका लागि गर्ने उडानलाई टर्न–अराउण्ड उडान भनिन्छ । यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किहाल्छ । त्यहाँबाट यात्रु राख्न पनि पाइँदैन । साथै चालक दलका सदस्यहरु पनि हेरफेर हुँदैनन् । २०७९ जेठ २ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरेपनि व्यवसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलायन्स मात्रै थियो । कुवेतको जजिरा एयरवेजले कुवेत भैरहवा नियमित उडान गर्दै आइरहेको भए पनि करिब डेढ महिनादेखि जजिराले पनि उडान रोकेको छ ।
Facebook Comments Box