वीरगंज, २६ जेठ
वीरगंज महानगरपालिकामा खानेपानीको समस्या विकराल हुँदै गएको छ । विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै खानेपानीको समस्या समाधान गर्न आग्रह गरेका छन् । वर्षायाममा डुबानमा पर्दै आएको वीरगंज यतिखेर खानेपानीको चरम संकटमा परेको छ । प्रचण्ड गर्मीमा चापाकलको पानी पनि सुकेपछि टोलटोलमा पानी आउने धारामा पानी लिनेहरूको भीड लागेको छ । धेरैजनाको चापकल सुकेपछि ठोकुवा चापाकल गाडेर पानीको समस्या समाधान गर्दैछन् भने कसैकसैले जारको पानी किनेर उपभोग गर्न थालेका छन् । रातभरि मानिसहरू पानीको जोहोको लागि अनेकौं प्रयास गर्दैछन् ।
बुद्धिजीवी डा. सुषमा तिवारीले फेसबूकमा केही फोटो पोस्ट गर्दै छपकैयामा खानेपानीको समस्या बताएकी छन् । फोटोमा एकै ठाउँमा बच्चा, बुजुर्ग महिलाहरू हातमा बोतल, बालटिन, भाँडाहरू लिएर क–कसको घरमा पानी आएको छ भन्दै सोधखोज गर्दैछन् । तत्काल खानेपानीको समस्या समाधान गर्न ट्याकंरबाट टोलटोलमा पानी पु¥याउन डा तिवारीले महानगरलाई आग्रह गरेकी छन् । डा तिवारीको पोस्टप्रति प्रतिक्रिया जनाउँदै अनिलकुमार कर्णले लेखेका छन् – चुरेक्षेत्र तथा चुरे नदीको अत्यधिक दोहनले पानीको विकराल समस्या आएको छ । वीरगंजमा खुला ठाउँ र पानी जम्मा हुने स्थान नरहेको र वर्षाको पानी सबै बगेर जाने गरेको कारण यस प्रकारको समस्या देखिएको यससम्बन्धी विज्ञहरूले बताएका छन् । वर्षाको पानी रिजार्च भएर जमीनमुनि जान नपाउँदा प्रचण्ड गर्मीमा पानीको सतह निकै तल गएकोले पानीको हाहाकार भएको बताइन्छ । वीरगंज–१३ का पत्रकार दिपक कुशवाहा बस्ने घरमा पनि धारा सुकेको बताए । उनले तीन दिनदेखि धाराबाट मोटरले पानी तान्न छाडेपछि आफुले अन्य ठाउँबाट पानी जोहो गरेर दिन काटनु परेको बताए । त्यसैगरी,वीरगंज–१२ मुर्ली टोलका धाराहरु पनि सुखेको स्थानीय कामेश्वर प्रसाद बताउँछन् । उनले हरेक वर्ष जेठको गर्मी याममा पानीको लागि स्थानीयले समस्या भोग्नु परेको बताए ।
खानेपानीको समस्या देखिएपछि वीरगंज महानगरपालिकाले चार हजार धारा जडान गर्ने तयारी गरिरहेको नगरप्रमुख सिंहले पनि फेसबूकमा लेखेका छन् । नेपाल खानेपानी संस्थानले महानगरको सीमित ठाउँमा खानेपानी पाइपलाइन विस्तार गरेको छ जसले गर्दा अधिकांश ठाउँमा चापाकल जडान भएको र हाल आएर चापाकल पनि सुक्दा वीरगंजवासी काकाकुल बन्न पुगेका छन् । खासमा वीरगंजमा अधिकांश मानिसले खानेपानी संस्थानको पाइप जोड्नुको साटो चापाकलमैं विश्वास गर्दा र महानगरपालिकाले पनि चापाकलमा भर पर्दा पनि यो अवस्था आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय