वीरगंज, २६ जेठ/ नारायणी अस्पतालमा एमआरआई मेशिन असार १५ गतेदेखि सञ्चालनमा आउने भएको छ । अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले एमआरआई मेशिन २०७९ फागुन महीनामा ठेकेदार कम्पनीले ल्याएको र त्यसका लागि आवश्यक भौतिक पूर्वाधारका कामहरू सकिएको तथा आवश्यक प्राविधिक जनशक्तिहरूको व्यवस्थापन पनि पूरा भइसकेको बताए ।
उनले सम्पूर्ण तयारी पूरा भएपनि विश्वव्यापीरूपमा हेलियम ग्याँसको अभाव हुँदा अस्पतालमा एमआरआई मेशिन सञ्चालन हुन नसकेको जानकारी गराए । उनले यही जेठ २४ गते ठेकेदारले हेलियम ग्याँसको आपूर्ति गरेको र एमआरआई मेशिन जडानको लागि विज्ञहरूको टोली सक्रिय भइसकेको भन्दै आगामी असार १५ गतेदेखि एमआरआई मेशिन सञ्चालनमा आउने बताए । उनले यसका लागि जनशक्ति तयार गर्न तालीम दिई हस्तान्तरण गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको बताए ।
सूचना अधिकारी डा सिंहले त्रिटेस्ला एमआरआई मेशिन नेपालमैं पहिलोपटक नारायणी अस्पतालमा जडान भइरहेको र यस भेगका बिरामीहरूले तुरुन्तै सेवा पाउने जानकारी गराएका छन् । उनले अस्पतालमा जडान हुने एमआरआई मेशिनबाट निजी अस्पतालभन्दा सस्तो मूल्यमा विशिष्ट सेवाका साथ बिरामीहरूलाई उपलब्ध गराइने जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर