वीरगंज
पर्सा प्रहरीले चोरी एवं ठगी गरेको अभियोगमा एक जना युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले गत शुक्रवार दिउँसो वीरगंज मुर्ली नयाँटोल वस्ने २८ वर्षिय आजाद मियाँ अन्सारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अन्सारीलाई अहिले श्रीपुर प्रहरीकै हिरासतमा राखिएको छ । यातयात लाइसेन्स कार्यालय वीरगंजको लाइसेन्स फाटबाट ११० जनाको लाइसेन्स(स्मार्टकार्ड) चोरेर लाइसेन्सका परिक्षार्थीहरुसंग रकम असुलेको उनीमाथि आरोप छ । खाजा ब्रेकको समयमा कर्मचारी नास्ता खान गएको बेला उक्त लाइसेन्स चोरेर सेवाग्राहीलाई फोन गरी रकम असुलेको उनीमाथि आरोप लागेको छ ।
‘तपाईको लाइसेन्स मसंग छ,१० हजार ल्याउँनुस नत्र लाइसेन्स खारेज हुन्छ,’ भनी उनले लाइसेन्स भएको सम्बधित सेवाग्राहीलाई रकम असुल्न धमाएका थिए । केही लाइसेन्सका सेवाग्रहीले रकम पनि बुझाएर लाइसेन्स लिएका छन् भने टाढा जिल्लाका सेवाग्रहीले यातायात लाइसेन्स कार्यालयका कर्मचारीलाई खबर गरेपछि प्रहरीको सहयोगमा अन्सारीलाई पक्राउ गरिएको हो । लाईसेन्सको स्मार्ट कार्डमा भएको सेवाग्रहीको सम्पर्क नम्बरमा उनले फोन गरी रकम असुलेको पाइउको छ । ७ हजारदेखि १५ हजार सम्म रकम सेवाग्राहीसंग असुलेको बुझिएको छ । वडा प्रहरी कार्यालयले अनुसन्धानपछि अभद्र मुद्दा चलाउने तयारीमा रहेको बुझिएको छ ।