
राधेश्याम पटेल
वीरगंज
बाराको सदरमुकाम कलैयाबाट पिलुवा जाने सडकखण्डलाई मानमत–मटिअर्वा सडकखण्ड भनिन्छ । सोही सडकखण्ड अन्तर्गत कलैयाको भरतचोकदेखि अवधापुर टोल सम्म २.९ किलोमिटरको सडक अहिले पनि ग्राभेल अवस्थामा अर्थात कालोपत्रे भएको छैन । उक्त सडकको पटकपटक ठेक्का लागे तापनि पिच नभएपछि सो क्षेत्रका जनताहरु आजित भएका छन् । प्रचण्ड गर्मीको बेवास्ता गर्दै स्थानीयहरुले सो सडकखण्डमा चक्का जाम गरेका छन् । पटकपटक विरोध प्रदर्शन र दबाब दिदै आएका कलैयावासीले उक्त करिब ३ किलोमिटर लम्बाईको सडक कालोपत्रे गर्न स्थानीय प्रहरी प्रशासनमा समेत पुग्ने गरेका छन् ।तर पनि कुनै सुनुवाई नभएपछि टोलवासीहरुले सडकमै बाँसको ढाट लगाएर चक्का जाममा उत्रेको उनीहरु बताउँछन् । स्थानीयको आक्रोश, जिल्ला प्रशासन कार्यालय बारा,जिल्ला प्रहरी कार्यालय ,कलैया नगरपालिका र उक्त ठाउँ पर्ने कलैयको वडा कार्यालयसंग छ । ठेकेदारबाट काम गराउन सम्बन्धित माहोल नबनाउँदा काम हुन नसकेको गुनासो छ ।
सडकको जाम खुलाउन बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको आदेशमा बारा प्रहरीले अवरोध हटाएर आवतजावत आइतवार साझदेखि खुलाएको छ । तर फेरी पनि अवरोध वा चक्का जाम नहोला भन्न सकिदैन । यस विषयमा कुराकानी गर्दा बाराका प्रजिअ सापकोटाले केही दिनमै उक्त ठेक्का तोडेर नयाँ प्रकृयाबाट ठेक्का लगाइने तयारी भएको बताए । उनका अनुसार २.९ किमि लम्बाईको ठेक्का हेटौडाको सप्तकोशी जेभीले कुल लागतको ४० प्रतिशत कममा सकार गरेको थियो । २०७८÷७९ आवमा ठेक्का भएको उक्त ठेक्का ठेकेदार कम्पनीले २१ करोडमा हात पारेको थियो । तर काम गर्न ढिलाई गर्दा सम्झौताको म्याद नागिर काम अलपत्र परेको हो । काम गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराले सम्बन्धित ठेकेदार कम्पनीका इन्जिनियर सुनिल यादवलाई पक्राउ गरी अभ्रद मुद्दा समेत चलाउँदा पनि ठेकेदारले काम नगरेको बाराका प्रउ होबिन्द्र बोगटीले बताए । ‘के गर्ने जति गर्दा पनि काम गरेनन्,अब नयाँ सिराबाट ठेक्का लगाई काम गराउनु पर्छ,स्थानीयले धैर्य धारण गरी दिनुपर्छ,’उनले भने,‘चक्काजाम र विरोधले राजमार्ग अवरुद्ध भयो भने प्रहरी बल प्रयोग गर्न बाध्य हुने छ ।’