spot_img

बुबा खोजिरहेका इन्तिहाम अन्सारी

११ वैशाख, बारा । ‘भैया के पापा बा, हमार पापा काहे नही बा ?’ सात वर्षे इन्तिहाम अन्सारी हजुआमा बिगन खातुनलाई सोध्छन् ।

जवाफमा ५० वर्षे खातुनका आँखा रसाउँछन् । आफू रोएको नातिले नदेखोस् भनेर उनी अर्कोतिर फर्किन्छिन् । रोएको आवाज नआओस् भनेर उनी दाँतले बलियो गरी ओठ र हात टोक्छिन् ।

आफूलाई सम्हालिसकेपछि नाति इन्तिहामलाई काखमा लिएर सुमसुम्याउँछिन् । तर, इन्तिहामको प्रश्नले भने उनलाई बिझाइरहन्छ । नातिले सोधेको यो प्रश्नको जवाफ दिने हिम्मत अझै जुटाएकी छैनन् खातुनले । जुन दिन उनले नातिको प्रश्नको जवाफ दिन्छिन् त्यही दिन उनी जीवनको इन्तिहाम (परीक्षा) उत्तीर्ण गर्नेछिन् ।

सम्झनाको सागरमा तैरिँदै उनी ८ वर्ष अगाडि पुग्छिन् । खातुनको जीवन नियमित चलिरहेको थियो । खातुनका छोरा हिफाजत मियाँ साइकल पसलमा मिस्त्रीको काम गर्थे । हिफाजतकै आम्दानीको भरमा चलेको थियो खातुन परिवार ।

श्रीमान् नजिम मियाँ अन्सारी, छोरा हिफाजत मियाँ, बुहारी सुविना खातुन र नातिनी हस्मु नेशा थिए खातुनको परिवारमा । बुहारी सविनाको पेटमा चार महिनाको गर्भ थियो । पाँच जनाको खातुन परिवारमा यतिखेर तीन जना मात्र छन् । तीन मध्ये खातुन दम्पतीको बुढ्यौली यात्रा सुरु भइसक्यो भने इन्तिहाम बालकै छन् ।

काठमाडौंमा संविधान जारी गर्ने तयारी चलिरहेको थियो । मधेशमा भने विरोधको आगो बलिरहेको थियो । त्यो आगोको लप्काले खातुनको परिवार तहसनहस बनायो ।

१५ भदौ ०७२ मधेश आन्दोलनको १७ औं दिन हिफाजत मियाँ बिहानै कलैयाको भरत चोक पुगे । आमा बिगन खातुनका लागि औषधि किन्न भनेर साहुसँग पैसा मागे । ‘मलाई औषधि ल्याइदिएपछि नुहायो । खाना खायो र आन्दोलनमा गयो,’ ८ वर्ष अगाडिको त्यो दिनको हरेक घटनाक्रम सम्झेकी छन् खातुनले ।

‘भरत चोकमा गोली चल्यो । हिफाजत ढल्यो,’ दिउँसो दुई बजेतिर भरत चोकबाट खबर आयो, खातुनले कुरा बुझिनन् । ‘हिफाजतलाई गोली लाग्यो,’ कसैले बुझाउँदै भन्यो । यति सुन्ने बित्तिकै खातुन आँगनमै ढलिन् ।

गोली लागेर ढलेका हिफाजत ।

‘भरत चोकबाट उठाएर कलैया अस्पताल लगेछन्,’ परिवारको आर्थिक व्ययभार उठाएका हिफाजत प्रहरीले चलाएको गोलीका सामु टिक्न सकेनन्, ‘गोली सिना -छाति)मा लागेको थियो । गोलीके सामने ना टिकल ।’

हिफाजत ढलेपछि आन्दोलन चर्कियो । नेताहरु खातुनलाई भेट्न लर्को लागेर आए । जागिर, आर्थिक सहयोग र बालबच्चा पढाउने बाचा गरेर गए ।

देशका लागि ज्यानको बलिदानी दिएको भन्दै नेताहरुले हिफाजत र खातुनको प्रशंसा गरे । छोरा गुमाएकी खातुनलाई त्यतिखेर लागेको थियो, ‘देश, समाजको भलो हुन्छ भने मेरो छोरा मरेर केही भएन । सरकारले हामीलाई हेरिहाल्छ ।’

जसै आन्दोलन शिथिल भयो नेताहरु आउन छाडे । छोरा गुमाएकी खातुनलाई दिएको वचन पनि भुले नेताहरुले । ‘म हिफाजतकी अम्मी भन्दै कति नेताहरुलाई फोन गरे । सबले म केही सक्दिनँ भने,’ अनि एक्लिइन् खातुन, ‘मेरो छोराको ज्यान व्यर्थ गयो ।’

खातुनसँग हिफाजतको सम्झनाका रुपमा नातिनी हुस्ना नेशा थिइन् । बुहारी सविना खातुन गर्भवती थिइन् । ‘हिफाजत मरेको दुई वर्षपछि नातिनी पनि मरी,’ नातिनी बचाउन नसकेकोमा खातुनलाई पिरोलिरहन्छ, ‘दवा (औषधी उपचार) गर्न सकिनँ ।’

हिफाजतकी छोरी हुस्ना नेशाको उपचारका लागि भने सामाजिक सञ्जाल मार्फत सहयोग जुटाउने प्रयास पनि भयो । तत्कालीन संघिय समाजवादी फोरमका नेता उपेन्द्र यादव नै हुस्नाकोे उपचार आफ्नो पार्टीले गराउने भन्दै खातुनको घर पुगेका थिए । तर, खातुन छोराको निशानी दुई वर्षे नातिनीलाई बचाउन सकेन् ।

हिफाजतको मृत्यु भएको पाँच महिनापछि ५ माघमा इन्तिहाम अन्सारी जन्मिए । आफ्ना अब्बा -बुबा)लाई देख्न नपाएका इन्तिहाम सात वर्ष पुगे । ‘यो एउटा मात्र बच्चा हो । हिफाजत मर्दा यो पेटमै थियो साढे चार महिनाको,’ खातुन नातिलाई काखमा लिन्छिन्, ‘हिफाजतले यसलाई देख्न पाएन, यसले हिफाजतलाई ।’

इन्तिहामलाई कसैले बुबा हिफाजतका बारेमा कुरा गर्‍यो भने उनी दौडिएर घरभित्र छिर्छन् र ‘मधेश जनविद्रोह समिति’ले दिएको प्रमाणपत्र बोकेर ल्याउँछन् । भर्खर एलकेजी पढिरहेका इन्तिहामले बुबा भनेर त्यही प्रमाणपत्रलाई चिनेका छन् ।

गर्भमै रहँदा बुबा गुमाएका इन्तिहाम आफ्नी हजुरआमाको पनि इन्तिहाम (परीक्षा) लिइरहन्छ र सोधिरहन्छन्, ‘भैया के पापा बा, हमार पापा काहे नही बा ?’

हिफाजतका छोरा इन्तिहाम र आमा बिगन खातुन।

इन्तिहाम एक वर्ष भएपछि आमा सविनाले अर्को विवाह गरिन् । छोरा नै नरहेपछि खातुनले बुहारीलाई रोक्न सकिनन् । ‘बुहारीले नातिलाई पनि लैजान्छु भनेकी थिई । मैले लग्न दिइनँ,’ छोराको एक मात्र निशानी उनले आफूबाट टाढा पठाउन चाहिनन् ।

संयोग कस्तो भने हिफाजतका छोरा इन्तिहाम मधेशले शहीदको सम्झनामा मनाउने गरेको बलिदानी दिवस ५ माघ ०७२ मा जन्मिए ।

मधेश आन्दोलन सेलाउँदै गएपछि खातुका दुःख सुरु भए । घरको कमाउने एक मात्र छोरा आन्दोलनमा मारिएपछि खातुन दम्पतीलाई हातमुख जोर्न समेत मुस्किल छ । ‘अर्काको खेतबारीमा काम गर्छौं, त्यहीबाट आएको पैसाले खान्छौं,’ खातुन सुनाउँछिन् ।

मधेश आन्दोलनमा शहीद भएका परिवारलाई सरकारले १० लाख रुपैयाँ दिएको थियो । त्यही दश लाख रुपैयाँ तिरेर उनले १० धुर जमिन किनिन् । ‘हामी मरेर गए पनि नातिका लागि हुन्छ भनेर किनेको,’ खातुनले जमिन नातिकै नाममा राखेकी छन् ।

आन्दोलन छाडेर मधेशका नेताहरु काठमाडौं केन्दि्रत हुन थाले । उता खातुन भने अनेक झमेलमा परिन् । नातिको जन्म दर्ता गराउँदा खातुनलाई प्रशासनिक झमेला आइलाग्यो । स्थानीय सरकारले बुबा, आमाको नागरिकता माग्यो । हिफाजतले नागरिकता बनाएका थिएनन् ।

पुरानो बाकस उधिन्दै खातुनले एउटा खाम निकालिन् । त्यो खामभित्र पासपोर्ट साइज तन्काएर ठूलो बनाइएको हिफाजतको फोटो छ । मधेश आन्दोलन सुरु हुनुभन्दा करिब २० दिन अगाडि नागरिकता बनाउने भनेर हिफाजतले फोटो खिचेका थिए । त्यही फोटो देखाइन् खातुनले, ‘नागरिकता बनाउनका लागि खिचेको यही फोटो छ । नागरिकता बनाउन नपाउँदै आन्दोलन भयो ।’ नागरिकता बनाउनै पाएनन् हिफाजतले ।

नातिको जन्मदर्ता बनाउँदा खातुनले छोरा हिफाजत मधेश आन्दोलनमा शहीद भएको सुनाइन् । तर, स्थानीय तहले शहीदको प्रमाणपत्र माग्यो । खातुन मधेश प्रदेशको राजधानी जनकपुर पुगिन् शहीद प्रमाणपत्र माग्न । ‘शहीदको कागज लिन जनकपुर गए तीन पटक । कसैले बनाइदिएनन् ।’ प्रदेश कार्यालयहरुले उनलाई वल्लो कोठाबाट पल्लो कोठा दौडाए । ‘यो नेता, त्यो नेता मात्र भने, नेतालाई भन्यो भोलि-भोलि भने,’ खातुनले छोरा शहीद भएको प्रमाण नै पाइनन् ।

सरकारले प्रमाणपत्र नदिए पनि मधेश सरकारले सार्वजनिक गरेको शहीदको सूचिमा हिफाजतको नाम छ । ०७४ मा मधेश सरकारले शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गर्‍यो । मधेश प्रदेश सरकारले सार्वजनिक गरेको सूचीअनुसार हिफाजतको परिवारले वन, पर्यटन मन्त्रालयमा रोजगारी पाउनुपर्ने थियो ।



आफ्नो परिवारका लागि सरकारले जागिर छुट्याएको कुरा हिफाजत परिवारले अहिलेसम्म थाहा पाएका छैनन् । ‘हामीलाई केही थाहा छैन । कसैले केही भनेको छैन,’ बिगन खातुन रिसाइन्, ‘बेटा हाम्रो मरेको छ, उनीहरु (नेता) मस्ति गर्छन् ।’

शहीद परिवारले कष्टसाध्य जीवन बाँचेपछि तह-तहका सरकारले शहीदका नाममा राज गरेकै छन् । बाराको देवताल गाउँपालिकाले ३० चैत ०७९ मा बड्की फूलवरिया टोलको नाम बदलेर ‘शहीद हिफाजत टोल’ बनायो । बिगनले दुःखसुख हुर्काएको हिफाजतको नाममा टोलका नाम बदलिए । नेताहरु सत्ताको भर्‍याङ उक्लिए । तर, छोरा गुमाएकी बिगन र बुबा गुमाएका इन्तिहाम भने अझै बाँस झ्याङले घेरिएको घरमा कष्टसाध्य जीवन बिताइरहेका छन् ।

छोराको फोटो ओल्टाई पल्टाई गर्छिन् खातुन, ‘यताको नेता उता जा भन्छन्, उताको नेता अर्को ठाउँ जा भन्छन् । बेकारमा छोराको ज्यान गयो, उनीहरुले छोरालाई आन्दोलनमा चढाए, अनि मर्‍यो ।’

८ वर्ष यताका हरेक साँझ खाना खाँदा खातुन छोरालाई सम्झिन्छन् । हिफाजतको सम्झनामा एक गाँस छुट्याउँछिन् ।’परिवार पाल्ने उही थियो । यो सानो बच्चाको न आमा छ, न बुबा । बा, आमाको साया छैन यसको टाउकोमा,’ खातुनलाई नातिकै पिर छ ।

खातुन परिवारसँग दुःख मात्र छ । अर्काको खेतबारीमा काम गर्न पनि खातुन दम्पतीको पाखुरीमा पर्याप्त बल छैन । ‘हामी मर्ने बेला भइसक्यो, यो अनाथ बालकको के हुन्छ ?,’ आफ्नो ज्यानले धानेसम्म नातिलाई पढाउने प्रण गरेकी छन् खातुनले । शहीदका सन्तानलाई निःशुल्क शिक्षा भने पनि इन्तिहामले भने यो सुविधा पाएका छैनन् ।

बरु हिफाजत नेताहरुले भोट माग्न प्रयोग गरिने कार्ड भएका छन् । ०७२ यता भएका हरेक चुनावमा नेताहरुले हिफाजतको फोटो आफ्नो र्यालीको अग्रपंक्तिमा राखेर भोट मागे । ‘मेरो छोराको फोटो लिएर भोट माग्छन् त्यसपछि आउँदैनन्,’ खातुन गुनासो गर्छिन्, ‘नेताहरु बहुत ठूला मान्छे हुन् उनीहरुलाई के भन्नु ?’

नेताहरुले आफ्नो छोराको फोटो कहाँबाट पाए खातुनले चाल पाएकी छैनन् । अबका चुनावमा आफ्नो छोराको फोटो लिएर भोट माग्दै गरेको भेटेमा नेतालाई झम्टिनेछिन् खातुन् । ‘फोटो लिएर भोट माग्या देख्यो भने मैले जान्या छु,’ खातुन दारा किट्छिन् ।

मधेश आन्दोलन २०६२/०६३ देखि २०७२ सम्म मारिएका ६१ जना मध्ये एक हुन हिफाजत । मधेश आन्दोलनमा ज्यान गुमाउनेको सूचिमा थपिएको फगत एक संख्या मात्र भए हिफाजत । नेताहरुका लागि बेला मौकामा मौन धारण गर्ने र भोट माग्न काम लाग्ने धेरै कारणहरु मध्ये एक हुन पुगे हिफाजत ।

तर, खातुनका लागि भने हिफाजत जिन्दगी थिए, ‘याद आउँछ नि, हिफाजत मेरो जिन्दगी थियो ।’

नागरिकता बनाउन भनेर खिचिएको हिफाजतको फोटोलाई सिसाको फ्रेममा हिफाजत-सुरक्षित) गरेर राख्ने योजना बनाएकी छिन् खातुनले । तर, समस्या फ्रममा राख्नका लागि पैसा छैन उनीसँग । ‘पैसा भयो भने यो फोटो सिसामा राख्छु,’ हिफाजत गरेर फोटो भित्तामा झुण्ड्याएपछि खातुनले नाति इन्तिहामको प्रश्नको जवाफ दिनेछिन्, ‘तिम्रो बुबा शहीद भइसक्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

विप्लवको कृतिबारे चर्चा

परवानीपुर, ३ वैशाख/ कवि विप्लव प्रतीकको भर्खरै प्रकाशित ‘साडेन फ्रोएडा’ पुस्तकबारे वीरगंजमा परिचर्चा सम्पन्न भएको छ । ज्ञानदा एकेडेमी वीरगंजको सभाहलमा आयोजित कार्यक्रममा कवि...

वडा कार्यालय भवनको उद्घाटन

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

spot_img