२३ चैत, जनकपुरधाम। जनकपुरधाममा आजदेखि सुरु भएको ‘मेयर कप’ टी-२० क्रिकेट प्रतियोगितामा धनुषाले विजयी सुरूवात गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा महोत्तरीलाई धनुषाले ३२ रनले पराजित गरेको हो ।
टस जितेर सुरुमा ब्याटिङ गरेको धनुषाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटिङ गरेको महोत्तरीले २० ओभरमा सात विकेट गुमाएर ११५ रन मात्र बनाउन सफल भए ।
आजको खेलको म्यान अफ दी म्याच धनुषाका कृष्ण कार्की घोषित भएका छन्। फाइनल खेल वैशाख १ गते हुने आयोजक संयोजक सरोज मिश्रले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालामा सुरु भएको क्रिकेट प्रतियोगितामा १२ वटा टिमले भाग लिएको छ ।
प्रतियोगिताको प्रदेश सांसद रामसरोज यादव, रामअशिष यादव, दिपेन्द्र ठाकुर र जनकपुरधामका नगरप्रमुख मनोज साहले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।