सिमरा चालु सिजनको ‘ए’ डिभीजन लिगमा अपराजित चर्च ब्वाइज यूनाईटेड जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधि होडमा प्रवेश गरेको छ । विहिबार सिमरा रङ्गशालामा साविक विजेता न्युरोड टिम एनआरटीलाई २–० ले पाखा लगाउँदै चर्च ब्वाईज पहिलो सहभागितामै उपाधि दौडमा आँफूलाई उभ्याउन सफल बन्यो । उपाधि रक्षाको मनोबलका साथ सिमरा आएको साविक विजेता न्युरोड टिम एनआरटीविरुद्ध चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो बेम्पा र रञ्जित पाण्डेले एक–एक गोल गरे । सिमरा रङ्गशालाको फ्लडलाईटमा एनआरटीलाई दबाबमा राखेको चर्च ब्वाईजका लागि १६ औं मिनटमा ओउसो बेम्पाले पेनाल्टी मार्फत अग्रता दिलाए । आक्रामक मुभ बनाएका चर्च ब्वाईजका रञ्जित पाण्डेलाई एनआरटी कप्तान विक्रम धिमालले डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री नविन्द्र महर्जनले पेनाल्टी अवसर प्रदान गरे । दूइ खेलाडी बिट गरिसकेको अवस्थामा चर्चका रञ्जित पाण्डेविरुद्ध एनआरटीका विक्रमले फाउल गर्न पुगेका थिए । खेलको ५३ औं मिनटमा गोलरक्षक पुजन होनाको गल्तीका कारण एनआरटी २–० ले पछि प¥यो । डिफेण्डर अजय चौधरीको ब्याकपास नियन्त्रणमा लिएर पनि गोलरक्षक पुजनले समयमै क्लिएर नगर्दा त्यसको फाइदा चर्च ब्वाईजले उठायो । चर्च ब्वाइजका रञ्जित पाण्डेले एनआरटीका गोलरक्षक पुजनको खुट्टाबाट बल खोस्दै सहजै गोलमा परिणत गरिदिए । करिब सातहजार दर्शकको उपस्थिती रहेको खेलमा दुबै टिमले केहि आकर्षक अवसर बनाएपनि फिनिसिङमा चुकेका थिए । खेलको नवौं मिनटमा चर्च ब्वाईजका मिलन राईको प्रहार साइड बारमा लागेर बाहिरीयो । डिबक्स भित्र रञ्जित पाण्डेले दिएको सुन्दर पासमा मिलनको सशक्त प्रहार साइडबारमा लागेर बाहिरिएको थियो । पहिलो हाफमा एनआरटीलाई पूर्ण दबाबमा राखेको चर्च ब्वाईजले खेलको १२ औं मिनटमा अर्को अवसर गुमायो । मनोज राईको क्रसबलमा रञ्जितको हेडर बल एनआरटीका गोलरक्षक पुजनले पंच गरेर क्रसबार माथि पठाए । खेलको ३० औं मिनटमा चर्च ब्वाईजका कमल श्रेष्ठको प्रहार साइडबारमा लागेर बाहिरीयो । डिबक्स भित्रै पाएको बललाई उनले सहि दिशा दिएका थिए । खेलको ४६ औं मिनटमा एनआरटीका गोलरक्षक पुजन होनाले चर्च ब्वाईजले पाएको अवसरलाई विफल पारे । कमल श्रेष्ठको कर्नर बलमा रञ्जित पाण्डेको हेडर बल पुजनले दोश्रो पटकको प्रयासमा पञ्च गरेर बाहिर पठाए । गोललाईन नजिकबाट रिवाउण्ड बलमा रञ्जितले उत्कृष्ट हेडर प्रहार गरेका थिए । खेलको ३३ औं मिनटमा एनआरटीका कप्तान विक्रम धिमालले चर्च ब्वाईजविरुद्ध बराबरीको अवसर खेर फाले । कृतिस रत्न चुन्जुले पेनाल्टी एरियामा उत्कृष्ट पास निकालेका थिए तर विक्रमले बल प्रहारका लागि चर्चको रक्षापंक्ती तोड्न सकेनन् । २–० ले पछि परिसकेको अवस्थामा खेलमा फर्कने प्रयास गरेको एनआरटीका लागि खेलको ५४ औं मिनटमा चर्चका अफ्रिकी गोलरक्षक प्रिसो बाधक बने । कृतिस रत्न चुन्जुले दुई खेलाडी बिट गर्दै पेनाल्टी एरिया नजिक निकालेको बलमा अशोक थापाको प्रहार चर्चका गोलरक्षक प्रिसोले उत्कृष्ट बचाउ गरेका थिए । त्यसलगतै ५६ औं मिनटमा एनआरटीले अर्को अवसर गुमायो । कृतिस रत्न चुन्जुले पेनाल्टी एरियामै निकालेको सटिक पास सञ्जिब बिष्टले सम्हाल्न नसक्दा एनआरटीले पाएको सुनौलो अवसर गुमायो । सञ्जिबले सम्हाल्न नसक्दा रोहन खड्गीले गरेको फितलो प्रहार चर्चका गोल रक्षक प्रिसोले सहजै बचाए । खेलको ६० औं मिनटमा एनआरटीका सञ्जिब विष्टले अर्को अवसर गुमाए । सनम लिम्बुले डिबक्स भित्र निकालेको बल नियन्त्रणमा लिएरपनि समयमै पोष्टको दिशा दिन नसक्दा चर्चका डिफेण्डरले क्लिएर गर्ने मौका पाए । जितसंगै चर्च ब्वाईजले शनिबार हुने उपाधि भिडन्तमा ‘ए’ डिभीजन क्लब हिमालयन शेर्पासंगको भेट पक्का ग¥यो । शेर्पा मकवानपुर ११ हेटौंडालाई पराजित गर्दै जीतपुरसिमरा गोल्डकपको फाइनल प्रवेश गरिसकेको छ । खेलको ज्योती विकास बैंक म्यान अफ दि म्याच चर्च ब्वाईजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए । उनले नगद दशहजार र ट्रफि प्राप्त गरे । उनलाई जीतपुरसिमराका वडाध्यक्ष हिराबहादुर गुरुङ्ग र ज्योति विकास बैंकका सिमरा शाखा प्रमूख भरत आचार्यले पुरस्कार प्रदान गरेका थिए ।
Facebook Comments Box