२९ फागुन, पोखरा । बाग्लुङको काठेखोला गाउँपालिका–६ बिऊँका डिलप्रसाद सापकोटा शनिबार डालेघाँस काटेर छिमल्दै थिए । मोबाइलमा घन्टी बज्यो ।
६३ वर्षीय डिलप्रसादले फोन उठाए । ‘सापकोटा बाजे नमस्कार, म रामचन्द्र पौडेलको सचिवालयबाट चिरञ्जीवी अधिकारी । रामचन्द्र बुवा राष्ट्रपति हुनुभएकाले सोमबार शपथ छ । हजुर पनि आउनुपर्यो’, फोनकर्ताले भने । सापकोटाले ‘म आइतबार नाइट गाडी चढेर आउँछु’ भनेर फोन राखे ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल २५ फागुनमा राष्ट्रपति निर्वाचित भएका थिए । सोमबार दिउँसो १ बजे शपथ तय थियो । राजनीतिक जीवनका क्रममा करिब १५ वर्ष जेल जीवन विताएका पौडेलले पुराना मित्रहरू सम्झिए ।
२०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापनाका लागि आन्दोलनको तयारीका क्रममा बाग्लुङमा पक्राउ पर्दा जेलमै दूध ल्याइदिने डिलप्रसाद सापकोटा (सापकोटा बाजे) लाई सम्झिए । त्यसैले शपथ समारोहमा आउन निम्ता दिन लगाए ।
शपथ ग्रहण समारोहमा आउन निम्तो आएपछि सापकोटा जसरी पनि काठमाडौं जाने तयारीमा थिए । ‘नाइट बसमा जान्छु भनेको अपर्झट काम परेर जान पाइनँ तर गाउँबाटै शुभकामना छ’ सापकोटाले अनलाइनखबरसँग भने, ‘उहाँ त्यो बेला सेरेमोनियल राजा हुनुपर्छ भन्नुहुन्थ्यो । पञ्चायतविरुद्ध लड्दै राजा नै फालेर आज राष्ट्रपति हुनुभएको छ । राष्ट्रपति राजा जस्तो होइन, जनताको मनमा बस्नुहोस् भन्ने शुभकामना छ ।’
पौडेलसँगको मित्रता
सापकोटाले २०४४ सालदेखि दूधको व्यापार थालेका थिए । त्यो बेला उनको घरमै तीन वटा भैंसी थिए भने गाउँलेको दूध समेत खरिद गरेर बजार पुर्याउँथे । एकाबिहानै डेढ/दुई घन्टा हिंडेर बाग्लुङ बजारमा दूध पुर्याउनु उनको दिनचर्या थियो । अञ्चलाधीशदेखि प्रमुख जिल्ला अधिकारीलाई दूध पुर्याउँथे ।
आज पनि सापकोटालाई ती दिन तरोताजा भएर आउँछन्, ‘नेतादेखि अञ्चलाधीश र सिडिओसम्म मेरो दूध भनेपछि हुरुक्कै थिए । घरमा भएको र गाउँलेबाट खरिद गरेर दैनिक ८० देखि १५० लिटर दूध बाग्लुङ बजारमा पुर्याउँथे ।’
त्यसक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलसँग विद्यार्थी नेता जगदीशचन्द्र उपाध्यायको घरमा सापकोटाको भेट भयो । ‘जगदीशजीको घरमा दिनहुँको संगठन र आन्दोलनबारे छलफल हुन्थ्यो । मेरो नाम उहाँले नै सापकोटा बाजे राखिदिनुभएको थियो ।’
विद्यार्थीको अधिवेशन र पार्टीको संगठन विस्तार गर्न रामचन्द्र बाग्लुङ पुगेका थिए । बाग्लुङबाट म्याग्दी जाँदै गर्दा तत्कालीन सिडिओले उनलाई बेनी नजिकबाटै फर्काइदिए । म्याग्दीबाट फर्केर पर्वत कुश्मा पुगे, अनि नेताहरूलाई भेट्न फलेवास पुग्दा रामचन्द्र पक्राउ परे । २६ मंसिरमा पक्राउ परेका रामचन्द्रलाई बलेवा प्रहरी चौकीहुँदै २७ गते बाग्लुङ कारागार ल्याइयो ।
त्यसपछि सापकोटा बाजेको जिम्मेवारीमा थपियो, पौडेललाई कारागारमा दूध तथा पत्रिका पुर्याउने, त्यहाँबाट पत्र ल्याउने । ‘रामचन्द्रजी विद्यार्थी नेताहरूसहित करिब १५ जना कारागारमा थिए । मैले दैनिक दुई लिटर दूध दिन्थें । गाउँबाट मकै भुटेर ल्याउँथें । घ्यू, दही र सातुसमेत पुर्याउँथें, त्यो पनि निःशुल्क’ सापकोटाले भने, ‘उहाँलाई दिनहुँ पत्रिका पढ्नैपर्थ्यो , त्यो जिम्मेवारी पनि मेरै थियो ।’
दूधसँगै बजारबाट पत्र–पत्रिका किनेर कारागारभित्र पुर्याउने क्रममा एक दिन एउटा पम्प्लेट खस्यो । जसमा लेखिएको थियो, ‘पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन सफल पारौं ।’ पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन चर्किएको बेला पञ्चायती व्यवस्था विरोधी पम्प्लेट भेटेपछि प्रहरीले उनलाई ६ घण्टा केरकार गर्यो ।
‘भोलि प्रहरी चौकीमै दूध ल्याउनुपर्छ, मेरो कुनै कसुर छ भने मुद्दा लगाउनुस्, नत्र छोडिदिनुस्’ भनेपछि अर्को दिनबाट पत्रपत्रिका नल्याउने शर्तमा छाडेको सापकोटा सुनाउँछन् । २०५४ सालसम्म दूधको व्यापार गरेका सापकोटाले अहिले दुई वटा भैंसी पालेका छन् र त्योसँगै खेतीपातीमा पनि उनको दिन बित्छ ।
दुई छोरामध्ये एक जना जापानमा छन्, अर्का इन्जिनियर । तीनवटै छोरीको बिहे भइसकेको छ । उनका अनुसार पौडेल पनि जब बाग्लुङ पुग्थे, सापकोटा बाजेलाई सम्झिन्थे । आज तिनै रामचन्द्र देशको सर्वोच्च पदमा पुग्दा सापकोटा खुसी छन् ।
‘२०५१ सालपछि उहाँ सभामुख भएर बाग्लुङ आउनुभएको थियो, म पनि चिन्छन् कि चिन्दैनन् भनेर परै बसेको थिएँ । उहाँले टाढैबाट देख्नुभएछ र मञ्चमै बोलाएर राख्नुभयो’ सापकोटाले भने, ‘एक पटक त मेरै घरमा पुगेर खाना खाएर बस्नुभयो ।’
राष्ट्रपति भएपछि पक्कै सम्झेलान् भन्ने लागेको थियो । सापकोटाले शपथ लिने कार्यक्रममै बोलाउँदा उनलाई जति खुसी लागेको छ, जान नपाएकोमा त्यति नै थकथकी पनि । ‘उहाँ साह्रै साधारण जीवन बाँच्ने नेता लाग्थ्यो । सभामुख र पटक–पटक मन्त्री बन्नुभयो । प्रधानमन्त्री बन्न पनि खोज्नुभएकै हो, आज राष्ट्रपति हुनुभएको छ’ राष्ट्रपति बनेका रामचन्द्रलाई उनको शुभकामना सन्देश छ, ‘म अहिले पनि कांग्रेस नै छु । तर तपाईं अब कुनै पार्टीको नभई जनताको भइदिए पुग्छ । बेला–बेला राष्ट्रपति पनि विवादमा आउँछन्, विवादमा नपर्ने गरी काम गर्नुहोला । म एक दिन भेट्न आउँछु ।’