बेपत्ता नेत्रप्रसाद बरालको तस्वीर
२९ फागुन, पोखरा । माओवादी द्वन्द्वकालमा छोरा बेपत्ता पारिएको भन्दै पोखरा महानगरपालिका-३० का अणनाथ बरालले नेपाली सेनाका एक कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका छन् ।
२०६० कात्तिक १९ गते बिहान ५ बजे छोरा नेत्रप्रसादलाई पक्राउ गरी बेपत्ता पारेको भन्दै फूलबारी ब्यारेकका सुबेदार कृष्णबहादुर गुरुङबिरुद्ध बरालले सोमबार किटानी जाहेरी दिएका हुन् ।
गुरुङको कमाण्डमा गएका १४/१५ जना हतियारसहितका सैनिक टोलीले पक्राउ गरी ल्या२ आजसम्म बेपत्ता पारेको किटानी जाहेरीमा उल्लेख छ । उक्त घटना अन्तर्राष्ट्रिय रुपमा मानव अधिकार उल्लंघनको कसुर मानिने हुँदा सुबेदार कृष्णबहादुर हाल कार्यरत भए÷नभएकोसमेत हेरी तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन बरालले माग गरेका छन् । उनले क्षतिपूर्तीको मागसमेत गरेका छन् ।
नेत्रप्रसादलाई गिरफ्तार गरी फूलबारी ब्यारेकमा ल्याई परिवारका सदस्यसमेत भेट्न नदिई चरम यातना र बन्धक बनाएर राखिएको बरालले जाहेरीमा उल्लेख गरेका छन् । ‘सोही क्रममा छोरालार्य मिति २०६० पौष ११ गते गोरखास्थित महेन्द्र गणमा लगिएको भन्ने सूचनाको आधारमा बुझ्न खोज्दा पनि कुनै पहुँच हुन सकेन,’ अणनाथले जाहेरीमा भनेका छन्, ‘छोरा बेपत्ता भएको करिब २ वर्षपश्चात पोखरा तालिमका क्रममा आएका तत्कालीन शाही सेनाका शुक्रराज सापकोटाले २०६२ कात्तिकसम्म छोरा महेन्द्र गणमा नै रहेको बताएका थिए ।’
अणनाथका छोरासँगै पक्राउ परेका सागर लुईँटेल भन्ने तीर्थ लुईंटेल र अन्य २ जनालाई सार्वजनिक गरी नेत्रप्रसादको स्थिति भने आजसम्म राज्य पक्षले सार्वजनिक नगरेको बरालले बताएका छन् । नेत्रप्रसादले पत्र पठाएर आफूलाई आँखामा पट्टी बाँधी हातमा हतकडी लगाइ राखिएको र मानवअधिकारवादीहरु पुग्दा लुकाउने गरेको जानकारी गराएका अणनाथले जाहेरीमा उल्लेख गरेका छन् ।
सँगै पक्राउ परेका अन्य ३ जनालाई सार्वजनिक गरिसक्दा पनि नेत्रप्रसादको स्थिति भने थाहा नभएको बरालले बताए । २०६२ असोज १ गते राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी दर्ता गराएका थिए ।
तत्कालीन माओवादी र नेपाल सरकारबीच भएको शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने उल्लेख गरिए पनि अहिलेसम्म नगरिएको भन्दै अणनाथ बराल दम्पति यसअघि पनि जाहेरी लिएर प्रहरी कार्यालय पुगेका थिए । तर, प्रहरीले द्वन्द्वकालीन मुद्धामा जाहेरी लिन नमानेपछि उनीहरु सरकारी वकिलको कार्यालय पुगेका थिए ।
नेत्रप्रसादका बुवा अणनाथ र श्रीमान गुमाएकी आरती शर्माले प्रहरी र सरकारी वकिलको कार्यालयले पनि जाहेरी नलिएपछि २०७८ मंसिर २७ गते उच्च अदालत पोखरामा निवेदन दिएका थिए । उच्च अदालत पोखराले २०७९ साल मंसिर १३ गते जाहेरी दर्ता गरेर प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो । सोही आदेशका आधारमा अणनाथ सोमबार प्रहरी कार्यालयमा जाहेरी लिएर पुगेका थिए र उनको जाहेरी पनि दर्ता भइसकेको छ ।
‘अदालतका आदेशका आधारमा जाहेरी दर्ता भएको छ’, कास्की प्रहरी कार्यालयका डीएसपी तथा प्रवक्ता श्रवणकुमार विकले भने, ‘जाहेरी दर्ता भए पनि अब अरु अनुसन्धानको प्रक्रिया अगाडि बढ्छ ।’