२८ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेसँगै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता अर्को चार वर्षका लागि कायम राखेको छ ।
नेपालले टस जितेर पहिला ब्याटिङको निर्णय गरेको थियो । खराव सुरुवात गरेको नेपालले ८ ओभरभित्रै तीन विकेट गुमाइसकेको थियो । नेपाली ब्याटरहरु मैदानमा क्रिजमा रनका लागि संघर्ष गरिरहँदा १५औं ओभरमा नेपाली कप्तान रोहितकुमार पौडेल र यूएईका सिनियर खेलाडी रोहन मुस्तफाबीच भनाभन भयो ।
आर्यन लाक्राले फालेको १५ औं ओभरको अन्तिम बलमा यूएईले कट विहाइन्डको अपील गरे पनि अम्पायरले आउट दिएनन । त्यसपछि प्वाइन्ट क्षेत्रमा रहेका मुस्तफाले रोहित भएतिर आउँदै केहि भने । त्यसपछि रोहितले आक्रोशित हुँदै त्यसले जवाफ दिए ।
अम्पायर र यूएईकै खेलाडीले दुवै खेलाडीलाई शान्त बनाइरहेका थिए । खेलपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले मुस्तफासँगको त्यो भनाभनबारे वास्तविक कुरा बताए ।
१४.६ ओभरमा आर्यन लाक्राको बलमा रोहित आउट हुनबाट मुस्किलले जोगिएका हुन् । बल उनको ब्याटमा लागेर प्याडमा ठोक्किँदै यूएईका विकेटकिपरको हातमा पुगेको थियो । जतिबेला नेपालले ३ विकेट गुमाएर ४० रन बनाएको थियो भने रोहित व्यक्तिगत १२ रनमा खेलिरहेका थिए ।
‘बल मेरो ब्याटमा लागेर प्याडमा लागेको थियो । मैले अम्पायरलाई त्यही भनेको थिएँ । तर, उनले आएर अम्पायरलाई त्यसरी भन्नुपर्र्दैन भने । हिट अफ द मोमेन्टमा अलिकति नोकझोँक भयो । त्यो पनि हो,’ रोहितले पत्रकार सम्मेलनमा भने ।
यूएईका खेलाडीले नेपाली खेलाडीहरुलाई उक्साउने प्रयास गर्दा नेपालले यूएईको हरेक विकेट र जितपछि पनि विशेष उत्सव मनाएको रोहितले स्वीकारे ।
नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएई ७१ रनमै अलआउट भएपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै धेरै १७७ रनको जित हासिल गरेको हो ।
नेपालको जितमा ब्याटिङतर्फ कप्तान रोहितले ७७ रनको संयमित अर्धशतकीय पारी खेले भने बलिङतर्फ ललित राजवंशीले करिअरकै उत्कृष्ट बलिङसहित ५ विकेट लिए ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर