मलंगवा, ५ असोज । मलगंवा जाने सडक खण्डको बिभिन्न ठाउँबाट आज बिहान स्थानीयहरूले टायर बालेर प्रदर्शन गरेका छन् ।
मलंगवामा दुर्ई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले फेरि कफ्र्यु लगाएको छ ।
बिहीवार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीवार राति १० बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको हो ।
सर्लाहीका डिएसपी दिपेन्द्र पन्जियार थारूका अनुसार मूर्ति सेलाउन जाने क्रममा साँझ साढे ७ बजे मुस्लिम बस्ती पुगेपछि बिजुलीको लाइन कट्यो । त्यहीबेला अज्ञात समूहबाट ढुंगामुढा प्रहार भएपछि झडप भएको थियो ।
त्यसैक्रममा एक युवकमाथि छुरा प्रहार भयो । छुरा प्रहार भएका ती युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यसले थप अप्रिय घटना निम्तिन सक्ने भएकाले अर्काे आदेश नहुनजेलसम्मका लागि कफ्र्यु आदेश जारी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन सक्ने स्थिति देखिएकोले पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोल पम्म) कफ्र्यु आदेश जारी गरिएको छ ।
कफ्र्यु लगाइएको सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न, भेला हुन, बाहिर हिंडडुल गर्न र कुनै प्रकारको उच्छृंखल गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ । आदेशको उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारबाई गर्ने चेतावनी समेत दिएको छ ।
यसअघि कृष्णाष्टमीको मूर्ति सेलाउने क्रममा पनि सोही बस्तीमा दुवै समुदायबीच झडप भएको थियो । त्यसपछि स्थानीय प्रशासनले कफ्र्यु र निषेधाज्ञा जारी गरेको थियो ।