वीरगंज, २६ भदौ/ वीरगंज–२१ लिपनीबिर्ताको परवानीपुरमा बलभद्रपूजा सम्पन्न भएको छ । कलवार कल्याण समिति परवानीपुरको आयोजनामा एक दिने पूजा सम्पन्न भएको हो । कलवार जातिको कुलदेवताको रूपमा चिनिने भगवान् कृष्णको प्रतिमा राखी बलभद्र पूजा गरिएको पूजा समितिका मनोज गुप्ताले बताए ।
उनले परवानीपुर आसपासका कलवार समुदायले वीरगंजमा गएर पूजा गर्नुपर्दा सास्ती भोग्नुपर्ने भएकोले पोहोरदेखि परवानीपुर बजारमा पूजाको आयोजना गर्न थालिएको बताए । परवानीपुरमा पटेलनगर, परवानीपुर, सुखचैना, लालपर्सा, लिपनी, चैनपुर, बहुअरी, रामपुरटोकनीलगायत गाउँबाट कलवार स्वजातीयहरूको सहभागिता हुने गर्छ । पूजाको दिन शोभायात्रा पनि निकालिएको थियो । कृष्ण जन्माष्टमीदेखि छठिहारसम्म कलवार जातिको बलभद्र पूजा गर्छन् । परवानीपुरको पूजामा प्रसौनी गापाका पूर्व गापा अध्यक्ष एवं कलवार कल्याण महासङ्घका केन्द्रीय उपाध्यक्ष भोलाप्रसाद गुप्ता, केन्द्रीय सदस्य सुरेश गुप्ता, परवानीपुर गापा–५ का वडाध्यक्ष रामेश्वर कलवारलगायतको सहभागिता थियो ।
यसैबीच, आज पर्सा, बाराको विभिन्न कृष्ण मन्दिरहरूमा कृष्ण जन्माष्टमीको पर्व समापन भएको र आज छैठौं दिन छठिहारको भोजको अवसरमा प्रसाद पनि वितरण गरिएको थियो ।