काठमाडौं
काठमाडौंमा चिनीको खुद्रा मूल्य किलोको ११० रुपैयाँ पुगेको छ। चिनी उद्योगीसँग भएको सबै बिचौलियाले उठाएर होलसेल मूल्य नै १०५ बनाएपछि खुद्रामूल्य ११० पुगेको हो। उनीहरुले दसैँताका किलोको १२५ पु¥याउने लक्ष्य राखेका छन्। व्यवसायीका अनुसार साउनको अन्तिम हप्तासम्म इन्दुशंकर चिनी मिल, रिलायन्स सुगर मिल, एभरेस्ट सुगर मिल, हिमालय सुगर मिल र इस्टर्न सुगर मिलसित चिनीको मौज्दात थियो। पाँचै वटा उद्योगसँग भएको चिनी बिचौलियाले खरिद गरेका थिए।
अब उद्योगसँग चिनी छैन, उद्योगका गोदाममा भएको चिनी बिचौलियाको मौज्दात हो। उनीहरूले उद्योगसँग प्रति किलो ९५ देखि ९७ सम्ममा खरिद गरेका थिए। अहिले त्यही चिनीलाई उनीहरू होलसेलमा १०५ देखि १०७ मा विक्री गरिरहेका छन्। यसैबिच एभरेस्ट सुगर मिलले पेप्सी उत्पादन गर्ने बरुण वेभरेजलाई १० हजार क्विन्टल र बोटलर्स नेपाललाई १ लाख क्विन्टल १ लाख क्विन्टल चिनी विक्री गरेपछि स्वदेशी उद्योगको चिनीले उपभोक्ताको पुस १५ सम्मको माग धान्न नसक्ने दाबी व्यवसायीले गरेका छन्। ‘नयाँँ क्रसिङको चिनी पुस १५ पछि मात्र आउँछ’, व्यवसायीले भने, ‘त्यस वेलासम्म बिचौलियासँग भएको चिनीले धान्दैन। यसका लागि आयातको विकल्प छैन। दसैँका लागि नै चिनी आयात नगरी नपुग्ने अवस्था छ। तर सरकारले खासै चासो दिएको अनुभव भएको छैन।
इस्टर्न सुगर मिलका प्रमुख कार्यकारी अधिकृत ऋतेश अग्रवालले आफ्नो उद्योगमा सात दिनपहिले नै चिनीको मौज्दात सकिएको बताए।
‘आयात गर्न तयार छौं’ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी सदस्य एवम् आयातकर्ता श्रवण अग्रवालले ठूला चाडपर्वमा चिनीको अभाव हुने देखिएको बताए। व्यवसायी अग्रवालले सरकारले चिनीको आयात गर्ने वातावरण नमिलाए असोजको पहिलो हप्तादेखि नै अझ चर्को मूल्यवृद्धि र अभावसम्मको अवस्था भोग्नुपर्ने दाबी गरे। उनले तर सरकारले चिनी आयातका लागि अहिलेसम्म कुनै पहल नगरेको आरोप लगाए। उनले भारतका व्यवसायी जोगबनी वा रक्सौलसम्म सीआईएफ नेरु ६७ रुपैयाँमा चिनी दिन तयार भएको जानकारी दिए। तर भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको हुँदा नेपालका व्यवसायीले आयात गर्न सकिरहेका छैनन्। अग्रवालले नेपालले भारतसित कूटनीतिक पहल गरेर आगामी डिसेम्बर महिनासम्मका लागि निश्चित परिमाणमा चिनीको आयात खोल्नुपर्ने आग्रह गरे। उनले भने, ‘सरकारले वातावरण बनाए हामी आयात गर्न सधैँ तयार छौँ। आयात गर्न पाउने निर्णय भएको ७ दिनभित्र हामी भारतीय चिनी स्वदेशका मुख्य बजारमा पु¥याउन सक्छौँ।’ कतिमा आइपुग्छ भारतबाट चिनी ? सरकारले चिनीको निर्यात खोल्यो र नेपाली व्यवसायीले आयात गरे भने गोदामसम्म आइपुग्दा चिनीको परल मूल्य अधिकतम किलोको ९० रुपैयाँ पर्ने देखिन्छ। यो चिनी खुद्रा बजारमा सर्वसाधारण उपभोक्तासम्म आइपुग्दा बढीमा किलोको ९६ रुपैयाँ पर्नसक्छ। व्यवसायीले किलोको १–२ रुपैयाँको मार्जिनमा चिनीको कारोबार गर्दै आएका छन्।
व्यवसायीका अनुसार नेपाल सरकारले चिनीको भन्सार मूल्यांकन भारु ३० अर्थात् नेरु ४८ कायम गरेको छ। त्यसैले आयातकर्ताले आयात गर्दा यही मूल्यांकनअनुसारको बिल बनाउँछन्। चिनीको आयातमा भन्सार महसुल ३० प्रतिशत र भ्याट छ। नेरु ४८ को भन्सार महसुल ३० प्रतिशतले हुन आउने रकम १४ रुपैयाँ ४० पैसा हुन्छ। भ्याट प्रयोजनका लागि भन्सार मूल्य नेरु ४८ मा सो महसुल जोड्दा ६२ रुपैयाँ ४० पैसा हुन्छ। अब ६२ रुपैयाँ ४० पैसामा भ्याट लाग्दा ८ रुपैयाँ ११ पैसा हुन्छ। यसरी चिनीको आयात गर्दा भन्सार महसुल १४ रुपैयाँ ४० पैसा र भ्याट ८ रुपैयाँ ११ पैसा गरेर कुल राजस्व २२ रुपैयाँ ५१ पैसा बुझाउने पर्ने देखिन्छ। चिनीको वास्तविक परल मूल्य ६७ रुपैयाँमा राजस्व २२ रुपैयाँ ५१ पैसा जोड्दा ८९ रुपैयाँ ५१ पैसा हुन्छ।
उद्योगलाई समस्या
चिनीको मूल्यवृद्धिसँगै बिस्कुट, कन्फेक्सनरी र जुस उद्योग समस्यामा परेका छन्। उद्योग संगठन मोरङका उपाध्यक्ष विपिन काबराले तीन वटै उद्योगका लागि चिनी मुख्य कच्चा पदार्थमध्ये एक भएको तर अप्रत्याशित मूल्यवृद्धिले लागत बढेको जिकिर गरे। उनी जुस उद्योगका सञ्चालक हुन्। ‘यही मूल्यमा चिनी खरिद गरेर उद्योग चलाउन सकिँदैन’, उपाध्यक्ष काबराले भने, ‘किनकि लागत खर्च माथि पुग्छ र उत्पादनको मूल्यवृद्धि हुन्छ। यसपछि भारतीय वस्तुले झन् बजार पाउने सम्भावना हुन्छ।’ काबराले सरकारले आकस्मिक कूटनीतिक पहल गरेर उद्योगले भारतबाट चिनी आयात गर्ने वातावरण बनाउनुपर्ने आग्रह गरे।
सरकार छलफलमै मात्र
चिनीको बजार अकासिँदा र व्यवसायीले अभाव हुनसक्ने बताइरहँदा पनि सरकारी निकायले भने छलफल नै चलिरहेको जनाएको छ। वाणिज्य मन्त्रालयका प्रवक्ता उर्मिला अर्यालले बिजमाण्डूलाई भनिन्, ‘चिनीको अभाव र मूल्यवृद्धि भइरहेको हामीले थाहा पाइरहेका छौँ। हामी के गर्ने भनेर आन्तरिक छलफलमा व्यस्त छौँ। यही हप्ता स्टेकहोल्डरसँग बैठक गर्दैछौँ। त्यसपछि केही न केही समाधान हुने आसा छ।’
सभारःबिजमान्डू÷अन्नतराज न्यौपाने