वीरगंज
भारतबाट अहिले नेपालको लागि धान आयात ठप्प भएको छ । भारतले गत २० जुलाई देखि गैर वासमति–धान निकासीमा प्रतिबन्ध लगाएको छ । साथै,गत विहीवारदेखि भारत सरकारले पोहोरको लागि दिएको ६ लाख टन धानको कोटा पनि समाप्त भएपछि भारतबाट नेपालको धान आयात ठप्प भएको हो । त्यसैको साइड इफेक्ट वीरगंज–रक्सौल नाकामा परेको छ । अहिले केही दिनदेखि नेपाल आउने धानहरुको गाडी रक्सौल भारतीय सीमावर्ती क्षेत्रमा होल्ड भएका थिए । ती धानको गाडीहरु पुनःफिर्ता भएका छन् ।
बिहार एवं यूपि राज्यको विभिन्न शहरबाट धान लोड भएर वीरगंज भित्रिने तयारी अवस्थामा रक्सौलमा अडकिएका थिए । करिब डेढ सय गाडीहरु आईसिपी रक्सौलदेखि लक्ष्मीपुर गाउँ सम्म राजमार्गमा लामबद्ध रोकिएका थिए । भारत सरकारले तत्कालै धानको कोटा बढाए धानको गाडी वीरगंज भत्रिने सोचका साथ ती गाडी होल्ड भएका थिए । ती गाडीहरु फिर्ता भएका हुन् । वीरगंजका खद्यान्न व्यवसायी सुरेश रुंगटाले एक सातादेखि ती गाडीहरु पर्ख र हेरको अवस्थामा सीमापारी अलपत्र अवस्थामा होल्ड भएकोमा तत्काल पास नहुने अवस्था देखिएपछि फिर्ता भएको बताए । ‘एक गाडीमा २० देखि ३० टन धान लोड छन्,एक गाडीको औसत साढे ५ लाख पर्छ,’उनले भने,‘हिसाब निकाल्ने हो भने अहिले भारतीय सीमा तिर करौडौको धान अलपत्र परेको थियो ।’
भारतले धान निकासीमा लगाएको प्रतिबन्धले नेपाली राइस मिल व्यवसाय प्रभावित हुने नेपाल चामल तेल दाल उद्योग संघका निवर्तमान अध्यक्ष डा.सुबोधकुमार गुप्ताले बताए । उनले अहिले तत्कालै अभाव सृजना हुदैन ,तर दुई अढाई महिनापछि धानको अभावमा चामलको उत्पादनमा कठिनाई हुन सक्ने उनको भनाई छ । सरकारलाई यस बारेमा आफुहरु जानकारी गराई चालू आबमा कम्तिमा १५ लाख टन धानका कोटा माग गरेकोमा सरकारले १० लाख टन धानको कोटाको लागि सम्बन्धित निकायसंग पहल गरिरहेको जानकारी दिए ।
यसै विषयमा उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रि रमेश रिजालसंग कुरा गर्दा उनले गत शुक्रवारका दिन धान १० लाख टन्,चामल १ लाख टन र चिनी ५० हार टनको कोटा निर्धारण गरी भारत सरकारसंग माग गर्ने निर्णय गरी पहल भइरहेको बताए । उनले मन्त्रालयबाट परराष्ट्र मन्त्रालय त्यसपछि भारतीय दूतावास हुदै नेपाल सरकारको माग प्रस्ताव भारत सरकार समक्ष पुग्ने र भारतले यसमा उचित निर्णय गर्ने उनले जनाए । भारतको निर्णय आउन केही साता लाग्ने उनले चर्चा गर्दै देशमा चामल,धानको अभाव सृजना हुन नदिन तत्पर रहेको बताए । धानको कोटा ६ लाखबाट १० लाख टन बढाउन माग गर्नूमा धान आयात गरी नेपाली राइसमिल उद्योगलाई संरक्षण गर्ने नीति लिइएको बताउँदै स्वदेशी उद्योग चल्यो भने यहाँ रोजगार सृजना हुनेमा सरकार गम्भीर रहेको उनले बताए । त्यसकारण चामलको कोटा १ लाखमा झारेर धानको कोटा बढाएर माग गरेको उनले स्पष्ट पारे ।
धान आयात फुकुवा नहुदाँ अढाई महिना सम्म कुनै असर नपर्ने व्यवसायीहरुले बताएका छन् । सबै उद्योगले थोर बहुत धान स्टक राखेर उद्योग चलाइरहेको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले बताए । अगामि मंसिरमा स्वदेशी नयाँ धान पनि आइसक्ने भएकोले तनावको अवस्था नरहेको बताउँदै तर तीन महिनापछिको खद्यान्न संकटलाई मध्यनजर गर्दै भारतसंग चाडै पहल गरी धान आयातको कोटा निर्धारण गराइसक्नु पर्नेमा उनको सुझाव छ । भारतबाट एक साता अघि भारु २१ देखि २५ प्रति किलोको दाममा धान खरिद गरी ५ प्रतिशत भन्सार महसुल तिरेर धान अयाात भइरहेको थियो । सय किलो धान कुटदा ६० किलो चामल निस्किन्छ । व्यवसायीले कुल लागतमा १५ देखि २० प्रतिशत सम्म मुनाफा जोडेर प्रति किलो नेरु ६० देखि ८० रुपैया सम्म चामल बेच्ने गरेका छन् । पर्सा बारा चामल उत्पादनको हबको रुपमा रहेको छ । यहाँ साना ठुला गरी १५० भन्दा बढि राइस मिलहरु सञ्चालनमा छन् भने वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा मात्रै करिब २० अर्ब भन्दा बढको लगानी चामल उद्योगमा रहेको व्यवसायीहरुको अनुमान छ ।