राधेश्याम पटेल
वीरगंज
आर्थिक नगरी वीरगंजको आन्तरिक राजस्व कार्यालय पर्साले हरेक वर्ष अर्बौं राजस्व संकलन गर्दा पनि देशको उत्कृष्ट ५ आन्तरिक कार्यालयको सूचिभित्र पर्दैन । किन भने कार्यालयको बक्यौता हरेक वर्ष बढदै जान्छ । गतआव २०७९÷८० को तथ्यांक अनुसार आन्तरिक राजस्व कार्यालय वीरगंज पर्साको हाल सम्मको बक्यौता झण्डै डेढ अर्ब पुग्न लागेको छ । यसैगरी,सो कार्यालयको बेरुजु रु ६० करोडभन्दा बढि पुगेको छ ।
उत्कृष्ट कार्यालयको दर्जा पाउनको लागि आयकर,मुअकर,अन्तशुल्क राम्ररी असुल उपर हुनुको साथै कर छल्ने करदातालाई प्रभावकारी कानुनी कारावाही गर्नु पर्ने,बक्यौता असुल गर्नु पर्ने हो । तर बक्यौता नउठदाँ कार्यालयले राम्रो कर असुल गर्दा समेत छायामा पर्ने गरेको छ । वीरगंज कार्यालयको मूल्यांकन हुदाँ उत्कृष्ट ५ भित्रको सूचिमा नपर्दा कर अधिकृतहरु नाक खुम्च्याउन बाँध्य हुन्छन् । आन्तरिक राजस्व कार्यालय वीरगंजकी निमित्त कार्यालय प्रमुख पुनिता झाले दिएको जानकारी अनुसार आयकरतर्फ १ हजार १ सय ४२ जनाबाट रु ७८ करोड २१ लाख ५० हजार ९८१ तथा मुअकरतर्फ ४ हजार ३१ जनाबाट रु ६९ करोड ९१ लाख ७१ हजार ७० गरी कुल रु १ अर्ब ४८ करोड १३ लाख २२ हजार ५१ बक्यौता उठाउनु पर्नेछ ।
हरेक वर्ष आयकरतर्फ कुल बक्यौताको १५ प्रतिशत व्याज थपिदै जान्छ भने भ्याटमा कुल बक्यौताको १५ प्रतिशत व्याज र १० प्रतिशत थप दस्तुर गरी २५ प्रतिशत कर थपिने नियम छ । तसर्थ, हरेक वर्ष बक्यौता बढने गरेको हो । मूअकरतर्फ १० करोड सम्म बक्यौता राख्ने १९ जना करदाताहरुरहेको निमित्त कार्यालय प्रमुख झाले बताइन् । जबकी आयकरतर्फ २० जना करदाताको बक्यौता मात्रै रु १७ करोड ६९ लाख छ । वीरगंज कार्यालय अन्तर्गत एउटै फर्मले करिब १४ करोड सम्म कर छलेको देखिन्छ ।
करौडौ कर छल्ने फर्म मध्ये वीरगंज–१६ इनार्वा वीरगंज भन्सार एरियाकै बबिता साह सञ्चालक रहेको मोहिनी इन्टरप्राइजेज पनि हो । यो फर्मले मात्रै रु १४ करोड ६८ लाख ५८ हजार कर बक्यौता राखेको छ । सबै कानुनी कारवाही गर्दा समेत फर्मको सञ्चालक हाल सम्म सम्पर्कमा आउन सकेकी छैनन् । धनुषा जिल्लाबाट २०५४ वैशाख १४ गते नागरिकता बनाएकी बबिताको श्रीमानको नाम कृष्ण कुमार गुप्ता हो । २०५६ सालमा आयकरमा र २०५८ सालमा मूअकरमा दर्ता भएको थियो । २०७०÷०७१ मा यो फर्मको कर निर्धारण भएको थियो ।
बक्यौता राख्ने व्यवसायिक फर्महरुले कोइला,ढुवानी,पेट्रोलियम पदार्थको आयातनिर्यात एवं व्यवसाय गरी घाटा बेहोरेको कारण कर तिर्न नसकेर सम्पर्क विहिन बनेको कर अधिकृतहरुले बताएका छन् । ‘कतिपयले घाटा लागेर फर्म बन्द गरी भारतमा फरार भएको बुझिएको छ,हामीले सबै प्रकृया अनुसार कारवाही गर्दा समेत कर असुल गर्न सकिएको छैन,’ एक जना कर अधिकृतले भने । आन्तरिक राजस्व कार्यालय वीरगंजले मात्रै गत असार मसान्तमा १८ वटा फर्मको बैंक खाता,घर–जग्गा,आयात निर्यात, शेयर कारोबार रोक्का गरेको जनाएको छ । २४ जना फर्मको सूचना निकालेकोमा ६ जनाले कर तिर्न आएको र बाँकी १८ जनालाई कारावही गरिएको जनाइएको छ । १८ जनासंग ५ लाख देखि ५ करोड सम्मको बक्यौता असुल उपर गर्नू पर्ने देखिन्छ ।