वीरगंज
धार्मिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने अभिप्रायका साथ वीरगंजमा दोस्रो पटक आयोजित ‘वीरगंज कोरा’ सम्पन्न भएको छ । वीरगंजका पर्यटकीय तथा धार्मिक स्थलहरूलाई अझै नजिकसँग बुझ्नुका साथै प्रवर्द्धन तथा प्रचार गर्ने उद्देश्यले आयोजित वीरगंज कोरा सम्पन्न भएको आयोजक संस्था वीरगंज साइक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालले बताए । उनले भने, ‘२०२२ मा पहिलो पटक वीरगंजमा हामीले कोराको आयोजना गरेका थियौँ । यस पटक यसको दोस्रो संस्करणका रूपमा वीरगंज कोरा सम्पन्न भएको छ ।’
अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा आयोजित वीरगंज कोरामा एक सयभन्दा बढीले सहभागिता जनाएका थिए । यहाँको सबैभन्दा पवित्र धार्मिक स्थलका रूपमा परिचित गहवामाई मन्दिर अगाडिको माइस्थान चोकबाट सुरु भएको कोराको परिक्रमा वीरगंजका विभिन्न स्थाल घुम्दै पुनः माइस्थान चोकमै आएर टुङ्गिएको हो । ‘माइस्थानबाट सुरु भएको कोरा पावर हाउस चोक, चिनिमिल आवास क्षेत्रमा रहेको पशुपतिनाथ मन्दिर, बाइपास सडक खण्ड, प्रतिमा चोक, बसपार्क, वैष्णो देवी मन्दिर, शङ्कराचार्य द्वार, बिर्ता मन्दिर, होटेल मकालु र गीता मन्दिर हुँदै पुनः माइस्थान चोकमा आएर १५ किलोमिटर लामो यात्रा गर्दै अन्त्य भएको अग्रवालले बताए ।
वीरगंज साइक्लिङ क्लबका सचिव अनुप अग्रवालका अनुसार वीरगंज कोरामा वीरगंजबासीको उत्साहजनक उपस्थिती थियो । यसले कोराको उद्देश्य पूरा भएको दाबी गर्दै अग्रवालाले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने बताए । वीरगंज सहर ट्राफिक समस्या र धुलो धुवाँसँग जुधिरहेको अवस्थामा कोराले वातावरणमैत्री साइकल अभियानलाई प्रवर्द्धन पनि गर्न खोजेको उनको भनाई छ । ‘त्यस्तै हामीले साइक्लिङलाई बढावा दिन अनि खोजेका छौँ । सामान्य कामको लागि समेत मोटरसाइकल र गाडी भन्दा साइकलको प्रयोग बढी होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।
वीरगंज कोराको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए । उनले पनि वातावरणमैत्री साइकलको प्रयोग गर्नुपर्नेमा जोड दिँदै स्वास्थ्यका लागि पनि साइकल उपयोगी हुने धारणा राखे । साथै धार्मिक स्थलको प्रवद्र्धन गर्न महानगरले पनि काम गरीरहेको उनले जानकारी गराए । वीरगंज महानगरपालिकाको संयुक्त आयोजनामा भएको वीरगंज कोरा –२०२३ मा नेपाल युवा उद्यमी मञ्च, वीरगंज, इम्प्रुभीङ् वीरगंज, वीरगंज युवा क्लब, हन्द्रेड्स ग्रुप, वुमन्स क्रिएसन र फोर जी आर समूह जस्ता संस्थाले पनि सहयोग गरेका थिए । २०११ मा पहिलो पटक काठमाडौँबाट सुरु भएको कोरा हाल देशका लगभगका सम्पूर्ण मुख्य सहरहरूमा आयोजना हुँदै आएको छ ।