वीरगंज
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई बद्नाम गर्ने खोजिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी कर्मचारी एव अधिकारीहरुका अनुसार निहीत स्वार्थ सिद्ध गर्न एवं राजनीति वर्चश्व कायम गर्नेका लागि राजनीति कार्यकर्ताहरुले प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहलाई बद्नाम गर्ने कार्य गरेको दावी गरिएको छ । दुई पक्षबीच भइसकेको सहमतिलाई गत साउन २ गते मंगलबार जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा छलफलको क्रममा नेपाली काँग्रेसँगका जिल्ला सचिव भैयाराम यादले आफ्नो अनुकुल सहमति गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो ।
उत्पन्न विवादलाई प्रहरीले साम्य पार्न खोज्दा प्रहरीमाथि नै कुटपिट हुन सक्ने अवस्था भएपछि सबैलाई जिल्ला प्रहरी कार्यालय हाता बाहिर निकालिएको थियो । सोही क्रममा राजनीतिकर्मी यादवले आफूमाथि हातपात भएको र प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहले आफूमाथि हातपात गरेको भन्दै वीरगंज स्थित स्पर्श मल्टिस्पेशलिटी हस्पिटलमा भर्ना भएका थिए । नेपाली कांग्रेस जिल्ला सचिव भैयाराम यादवले आफुमाथी प्रहरी अधिकारी साह र पाण्डेले अमानविय व्यवहार गरेको बताउँदै आएका छन् । प्रहरीले उनको कुरालाई खण्ड गर्दै यादवले भने जस्तो नगरेको कारण प्रहरी अधिकृत जस्तो कर्मचारीहरुको चरित्र हत्या गर्न राजनीतिकरण सुरु गरेको बताएका छन् ।
विवाद पश्चात नेपाली काँग्रेसका कार्यकर्ताहरु प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन समेत गरेका थिए तर स्थानीयहरुले भने प्रहरीले गरेको कामको वाहवाही गरि रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा पीडित र पीडक भन्दा पनि विचौलियाहरुको विगविगी बढि हुन्छ । दिनहुँ विभिन्न घटनाका छलफलहरु भइरन्छ र विचौलियाहरुले घटना मिलाउने, मुद्दा मिलाउने बहानामा जिल्ला प्रहरी कार्यालयको ओहरदोहर गरि रहेका हुन्छन् । आफू यो पार्टीको नेता, समाजसेवी भनेर पटक पटक आफ्नो अनुकुल घटनालाई मोड्नु र घटना मिलाउनु विचौलियाहरुको दिनचर्या नै छ ।
यता आफूलाई कुटपिट भएको भन्ने राजनीतिकर्मी यादव उपचारको नाममा अस्पतालमा दिन विताई रहेका छन् । आफूमाथि निर्घात कुटपिट भएको दावी गर्दै लगाएका राजनीतिकर्मी यादवको मेडिकल रिपोर्टमा भने कुटपिट नभएको देखाएका प्रहरी स्रोतको दावी छ । यादवलाई कलैया अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा कुनै किसिमको कुटपिट नभएको रिपोर्टमा उल्लेख छ । प्रारम्भिक मेडिकल रिपोर्टमा ४९ वर्षीय यादवका ब्लड प्रेसर १४०÷९०, अक्सिजन ९५, पल्स ९०, आरआर २०, बडी टेम्प्रेचर ९७ डिग्री देखिएको छ । तर यादवले प्रहरीले झाडप र बुटैबुटले हानेको भनेर सञ्चारकर्मीहरु समक्ष बताउँदै आएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले यादवमा आफू लगायत कुनै प्रहरीले कुटपिट नगरेको दाबी गरेका छन् । उनले गत असार १२ गते रोकेर राखिएको पिकअप भ्यानमा पछाडिबाट मोटरसाइकलले ठोकेको थियो र मोटरसाइकल चालक घाइते भएका थिए । मोटरसाइकल चालकसँग लाइसेन्स नभएको कारण उपचार खर्च मोटरसाइकल चालकले ३० प्रतिशत र पिकअप भ्यान साहुले ७० प्रतिशत खर्च तिर्ने सहमति भएको थियो । विवाद समाधानकै क्रममा पटक पटक छलफल गर्दा घाइतेको उपचारमा बढि पैसा खर्च देखिएपछि पिकअप साहुले पैसा नतिर्ने भनेपछि जिल्ला प्रहरी कार्यालय परिसरमै छलफलकै क्रममा विवाद उत्पन्न भएको थियो ।