वीरगंज
वीरगंज महानगरपालिकाले मुख्य नालामाथि निर्माण गरेको संरचना हटाउन हरिखेतान बहुमुखी क्याम्पसलाई निर्देशन दिएको छ । नाला सफाइमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन महानगरले क्याम्पसलाई निर्देशन दिइएको हो । जिल्ला हुलाक कार्यालयदेखि मुख्य नाला सफाइ गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाइलाई निरन्तरता दिँदै आएको छ । हरिखेतान क्याम्पस पछाडिसम्म सफाइ गरेको महानगरले क्याम्पसको संरचना नहट्दा मुख्य नाला सफाइमा अबरोध भएपछि क्याम्पसको संरचना तत्काल हटाउन महानगरले शुक्रवार क्याम्पस प्रशासनलाई निर्देशन दिएको हो ।
पटक पटक सूचना दिँदा पनि हटाउन अटेर गरेपछि महानगरको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजक एंव वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसिया नेतृत्वमा गएको टोलीले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन क्याम्पस प्रशासनलाई निर्देशन दिएको हो । क्याम्पस सञ्चालक समितिका सुनिल खेतान र क्याम्पस प्रमुख भगवान् यादवलाई भेटेर टोलीले अतिक्रमण गरेर बनाइएको मुख्य नालामाथि बनेको संरचना हटाउन निर्देशन दिएको संयोजक चौरसियाले जानकारी दिए ।
शुक्रवार बिहान मात्रै वीरगंज–१० आदर्शनगरस्थित मुख्य नाला अतिक्रमण गरी बनाइएको होटेल ओम रेसिडेन्सीको भवन, आश्विनी शर्माले निर्माण गरेको भवन र सत्यनारायण रौनियारले निर्माण गरेको भौतिक संरचना महानगरल डोजर लगाएर हटाइएको थियो । वीरगंजमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्को नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउ हुँदै दक्षिणतिर बगेको छ ।
गीता मन्दिरदेखि आदर्शनगर हरिखेतान क्याम्पस सम्मको क्षेत्रमा मुख्य नालाको दुवै तर्फ अतिक्रमण गरेर संरचना बनेका छन् । आदर्शनगरको क्लासिक होटेल र कर्पोरेट डेभलपमेन्ट बैङ्कको भवन पनि नाला माथि नै निर्माण गरिएको छ । अहिले क्लासिक होटेल पछाडिसम्मको मुख्य नालामा बनेका संरचना हटाउँदै नाला पूर्ण रूपमा सफाइ गरिसकिएको छ । राष्ट्रिय वाणिज्य बैङ्क पछाडितर्फ पनि हरिखेतान क्याम्पससम्मको क्षेत्रमा पर्ने मुख्य नालामा परेका संरचना हटाउँदै नाला सफाइ गर्ने क्रम अगाडि बढाइएको हो । जस अनुरूप शुक्रवार तीन वटा संरचना डोजर लगाएर हटाइएको छ भने हरिखेतान क्याम्पस पनि हटाउन शुक्रवार क्याम्पस प्रशासनलाई निर्देशन दिई सकिएको छ । महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि आफैले डोजर लगाएर हटाउँदै सफाइलाई तीव्रता दिँदै आएको छ । वर्षौँदेखि मुख्य नाला सफाइ नहुँदा वीरगञ्ज बर्सातको समयमा डुबानमा पर्दै आएको छ । यस पटक मुख्य नाला पूर्ण रूपमा सफाइ गर्न महानगरले सबै उपाय अवलम्बन गरेको छ । सहायक नालाहरू पनि सफाइ गर्दै मुख्य नाला पूर्ण रूपमा सफाइ गर्न अवरोध गर्ने संरचना हटाउन महानगर प्रमुख राजेशमान सिंहले निर्देशन दिए अनुरूप काम भइरहेको समितिका संयोजक चौरसियाले जानकारी दिए ।
डुबानबाट बचाउन हरिखेतान भत्काइने,अबैध संरचना हटाउन निर्देशन

Facebook Comments Box
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय