राधेश्याम पटेल
वीरगंज
वीरगंज भन्सार कार्यालयले सरकारले दिएको लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । वीरगंज भन्सारले चालू आवको ११ महीनामा अर्थात् जेठ मसान्तसम्म ६० प्रतिशत हाराहारीमा मात्रै राजस्व सङ्कलन गरेको छ । सरकारले चालू आवको जेठ मसान्तसम्म दुई खर्ब ३७ अर्ब ५८ करोड ६३ लाख ६२ हजार राजस्व लक्ष्य लिएकोमा ५९.९० प्रतिशत अर्थात् एक खर्ब ४२ अर्ब ३० करोड ४१ लाख ६२ हजार मात्र राजस्व सङ्कलन गरेको छ । आर्थिक मन्दीको कारण देशकै उद्योग व्यवसाय प्रभावित बन्दा पछिल्लो समय भारत तथा तेस्रो मुलुकबाट आयात मालसामानको परिमाणमा कमी आउँदा राजस्व सङ्कलन प्रभावित भएको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए ।
झन्डै ४० प्रतिशत कम राजस्व उठ्नु राज्यको लागि निकै चिन्ताको विषय हो उनले भने– एकातर्फ सरकारले पोहोरभन्दा राजस्व लक्ष्य पनि बढाएको थियो । त्यसमा पनि मालसामानको आयात ह्वात्तै घट्दा राजस्व सङ्कलनमा नकारात्मक असर परेको उनको दावी छ । गत आव २०७९÷८० को जेठ मसान्तसम्म ११ महीनामा वीरगंज भन्सारले एक खर्ब ८५ अर्ब ६१ करोड ९५ लाख १९ हजार लक्ष्य पाएकोमा १०२ प्रतिशत अर्थात् एक खर्ब ८८ अर्ब ७८ करोड ६४ लाख १० हजार राजस्व सङ्कलन गरेको थियो ।
पोहोरको राजस्व सङ्कलनसँग तुलना गर्ने हो भने चालु आवको जेठ मसान्तसम्म एघार महीनामा झन्डै ४६ अर्ब कम राजस्व सङ्कलन भएको देखिन्छ । वीरगंज भन्सारले चालू आवको साउनदेखि जेठ मसान्तसम्म भन्सार महसूलतर्फ ८९ अर्ब, ३४ करोड २६ लाख ९६ हजार लक्ष्य पाएकोमा ५६.५३ प्रतिशत अर्थात् ५० अर्ब ५० करोड ४९ लाख ९४ हजार, मूल्य अभिवृद्धि कर (भ्याटतर्फ) ८९ अर्ब २० करोड ६३ लाख २० हजार लक्ष्य पाएकोमा ७१.६२ प्रतिशत अर्थात् ६३ अर्ब ८९ करोड ३७ लाख ७७ हजार, अन्तःशुल्कतर्फ २४ अर्ब ४० करोड ९६ लाख ७८ हजार राजस्व लक्ष्य पाएकोमा ३६.९९ प्रतिशत अर्थात् नौं अर्ब दुई करोड ९९ लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ भने पूर्वाधार करतर्फ १९ अर्ब २४ करोड ६० लाख ५३ हजार लक्ष्य पाएकोमा ६५.२३ प्रतिशत अर्थात् १२ अर्ब ५५ करोड ३७ लाख आठ हजार, कृषि सुधार शुल्कतर्फ एक अर्ब ८८ करोड ८० लाख ८० हजार लक्ष्य पाएकोमा ७८.३९ प्रतिशत अर्थात् एक अर्ब ४८ करोड ८० हजार, सडक मरम्मत तथा सुधार दस्तुरतर्फ आठ अर्ब ६३ करोड ५८ लाख ४८ हजार लक्ष्य पाएकोमा ३७.२९ प्रतिशत अर्थात् तीन अर्ब २१ करोड ९९ लाख ६० हजार र सडक निर्माण तथा सम्भार दस्तुरतर्फ तीन अर्ब ६९ करोड ९४ लाख आठ हजार लक्ष्य पाएकोमा ३४.०१ प्रतिशत अर्थात् एक अर्ब २५ करोड ८२ लाख ३५ हजार गरी कुल दुई खर्ब ३७ अर्ब ५८ करोड ६३ लाख ६२ हजार वीरगंज भन्सारले लक्ष्य पाएकोमा एक खर्ब ४२ अर्ब ३० करोड ४१ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ ।
चालू आवको जेठ मसान्तसम्म वीरगंज भन्सारबाट हरियो २३ हजार ४६० (१६.९८ प्रतिशत), पहेंलो ४० हजार ९८२ (२९.६६ प्रतिशत) रातो ७३ हजार ७३० (५३.३६ प्रतिशत) वटा प्रज्ञापनपत्र जाँचपास भएको छ भने गत आवको यसै अवधिमा हरियो ३५ हजार ४२४ (१९.५२ प्रतिशत), पहेंलो ५० हजार ९९१ (२८.१० प्रतिशत) र रातो ९५ हजार ४६ (५२.३८ प्रतिशत) वटा प्रज्ञापनपत्र जाँचपास भएको थियो । त्यसैगरी, चालू आवको जेठ मसान्तसम्म वीरगंज भन्सार नाका हुँदै आयात हुने उत्कृष्ट २० वटा मालवस्तुमा डिजेलको परिमाण १८.४९ प्रतिशत र त्यसबाट उठ्ने राजस्व २९.९७ प्रतिशतले कमी आएको छ भने पेट्रोलको परिमाण २.०६ प्रतिशत र राजस्व १०.१० प्रतिशतले कमी आएको देखिन्छ । एलपी ग्यासको आयातमा १.२६ प्रतिशत कमी देखिएको छ भने त्यसबाट उठ्ने राजस्वमा ३२.०४ प्रतिशतले कमी भएको तथ्याङ्कमा उल्लेख छ । जीप, कार, भ्यानको आयातमा ६३.२९ प्रतिशतले गिरावट आएको छ भने त्यसबाट सङ्कलन हुने राजस्व ७५.३६ प्रतिशतले कमी भएको देखिन्छ । सुर्तीको आयातमा ३.९४ प्रतिशतले कमी भएको छ भने अन्य कोइला १.३८, भटमासको कच्चा तेल ३४.४८, लुब्रिकेटिङ आयल मोबिल ७.७८, चकलेट ९.४८ प्रतिशत, मोटरसाइकल (अनएसेम्बल) ६५.३४ प्रतिशतले आयातमा गिरावट आएको वीरगंज भन्सारको तथ्याङ्कले देखाएको छ । परिमाण र राजस्व बढाउने मालवस्तुमा एचआर सिट, विद्युत्बाट सञ्चालित जीप, कार, भ्यान, शृङ्गार सामग्री, अन्य बस, ट्रकका चेसीस, तयारी कपडा, सूर्यमुखी कच्चा तेल, बिटुमिन, एलोपैथिक औषधिलगायत रहेका छन् ।