राधेश्याम पटेल, वीरगंज
बारामा ६५ प्रतिशत मतदान भएको छ । बारा २ को उपनिर्वाचन अन्तर्गत आईतवार सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा ६५ प्रतिशत मतदान भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले प्राप्त तथ्यांक अनुसार ६५ प्रतिशत मतदान भएको जानकारी दिए ।
‘फाटफुट घटना बाहेक बारा २ को उपचुनाव शान्तिपूर्वक सम्पन्न भएको छ,मतपेटिका ओसार्ने काम भइरहेको छ,’उनले भने,‘ २ घण्टाभित्र मतपेटिका मतगणना स्थलमा पु¥याएपछि मतगणना बारे सर्वदलिय बैठक बसी निर्णय गरिने छ ।’ सम्भवत राति १० बजेपछि मतगणना गर्ने तयारी छ ।
बारा २ क्षेत्र उपनिर्वाचनका निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार मतगणना बाराको सदमुकाम कलैयास्थित गंगापुरका शैक्षिक तालिम केन्द्र भित्र हुनेछ । आज विहान ७ बजेदेखि साझ ५ बजे सम्म बारा २ को विभिन्न ८२ मतदानस्थलको १३७ मतदान केन्द्रमा मतदान भएको थियो । केही मतदान केन्द्रमा विवाद भएको एवं केही राजनीतिक दलका नेतालाई मतदानस्थलमा अनुगमनमा अवरोध सृजना गरिएको पनि आरोप लगाइएको छ ।
केही मतदान केन्द्रमा सञ्चारकर्मीहरुलाई पनि अवरोध गरिएको पत्रकारहरुले बताएका छन् । जनमत पार्टीका अध्यक्ष सांसद डा. सिके राउतलाई केही बुथ अनुगमनको क्रममा प्रहरीले घेराबन्दीमा पारेको तथा केही बुथ नै कब्जामा लिइएको आरोप लगाए । तर बारा प्रहरीसंग बुझ्दा उनको आरोप निराधार रहेको बताएका थिए ।
बारा प्रहरीले मतदान अचारसंहिता विपरित गतिविधि गरेको आरोपमा जसपाका रामसागर यादवलाई पक्राउ गरेको थियो । उनलाई देवतालको पिपरपाती जब्दी मतदान केन्द्रमा दुई वटा मतपत्र मध्ये एउटा खसालिसकेको र अर्को खसाल्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
त्यसैगरी,अन्य ५ जनालाई पनि निर्वाचनको अचारसहिता विपरित गतिविधि गरेको आरोपमा हिरासतमा लिइएको छ ।
बारा २ मा १ लाख ५ हजार मतदाता रहेका छन् भने ३४ जना उम्मेदवार रहेका छन् । पक्राउ परेकाहरुलाई बारा प्रहरीले मतदान सकिएपछि रिहा गरेको पनि जनाएको छ ।
Facebook Comments Box