neelamb

कांग्रेसले जितेको राजनीतिमा रामचन्द्र राष्ट्रपति

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित हुँदा पौडेलले ३२ हजार ८०२ मतभार पाए । आफ्नै उम्मेदवार उठाएको नेकपा एमाले, तटस्थ बसेका राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेक सबै दलले पौडेललाई मत दिएका छन् ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित ७ दलका नेताहरु पौडेलेको समर्थक÷प्रस्तावक बसेका थिए । अन्तिम समयमा प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि पौडेललाई नै मत दिएको छ ।

नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले भने आफ्नो दलको मात्र १५ हजार ५१८ मत मात्रै पाए ।

कांग्रेसले जितेको राजनीति

पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा १० पुसमा बनेको सहमतिमा माओवादी केन्द्र टिकेको भए एमाले उम्मेदवार राष्ट्रपति सहजै चुनिने अंकगणित थियो । किनकी सरकार गठनकै क्रममा एमालेले राष्ट्रपति लिने सहमति सार्वजनिक भएको थियो ।

संसदको एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपाका साथै जनमत र नागरिक उन्मुक्ति पार्टीसहित स्वतन्त्र सांसद समेत भएकाले त्यो गठबन्धनसँग प्रष्ट बहुमत थियो । तर त्यो गठबन्धन दुई महिना पनि टिकेन ।

किनकी संसदको तेस्रो दल माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि संवैधानिक पद राष्ट्रपति कांग्रेस र एमालेका लागि प्रतिष्ठाको विषय बन्यो ।

राष्ट्रपति चुनावलाई लक्षित गरेरै कांग्रेसले आफ्नो नेतृत्वको गठबन्धन छाडेर एमालेतिर गएको १६ दिनमै (२६ पुसमा) प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो । प्रधानमन्त्री भएपनि गठबन्धनमा केपी शर्मा ओली हावी भएको प्रचण्डको गुनासो थियो ।

त्यसमाथि आफ्नो विश्वास पात्रलाई राष्ट्रपति बनाएर कुनै पनि बेला अप्ठ्यारोमा पर्ने त्रासमा रहेका प्रचण्डलाई कांग्रेसको विश्वासको मतले बल दियो । त्यो भयबाट बच्ने विकल्पमा माओवादीले संस्थागत रुपमै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने निर्णय गर्‍यो ।

त्यसयता प्रधानमन्त्री प्रचण्ड १० पुसको सहमति छाडेर कांग्रेसतिर खुल्दै गएपछि एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए । तर, उनी पनि तयार भएनन्, बरु कांग्रेसलाई राष्ट्रपति बनाउने सहमति गर्न तयार भए ।

१२ फागुनमा बालुवाटारमा बसेको ८ दलको बैठकमा प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव राखे, नेपालसहित सबैले सहमति जनाए । यो निर्णयबाटै रामचन्द्र राष्ट्रपति बन्ने बाटो खुलेको थियो भने राष्ट्रिय राजनीति कांग्रेसको पोल्टामा गएको थियो ।

किनकि ४ मंसिरको संसदीय समीकरण र राष्ट्रपति पदका निम्ति दलहरुले दिदै आएको प्राथमिकताको भार हेर्दा राष्ट्रपतिको चुनाव जित्नु भनेको तत्कालीन राजनीतिको कोर्स जित्नु समेत हो ।

०६५ मा गणतन्त्र स्थापना भएपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला आफैं पहिलो राष्ट्रपति बन्ने चाहनामा थिए । दश वर्ष सशस्त्र विद्रोह गरेर राष्ट्रिय राजनीतिमा आएका अर्का नेता प्रचण्डले ‘पहिलो राष्ट्रपति’ भनेरै २०६४ को चुनाव लडेका थिए ।

तर एक अर्काविरुद्धको शक्ति संघर्षमा कोइराला र प्रचण्ड दुवै राष्ट्रपति भएनन् । ०६४ को चुनाव जितेर पहिलो शक्ति बनेको माओवादीविरुद्ध कांग्रेस–एमालेसहित दलहरुबीच गठबन्धन हुँदा डा.रामवरण यादव प्रथम राष्ट्रपति बने ।

यादवले माओवादीका उम्मेदवार रामराजाप्रसाद सिंहलाई पराजित गरेका थिए । त्यो चुनावमा सिंह पराजित मात्रै भएनन्, त्यसपछिको राजनीतिक कोर्समा कांग्रेस–एमाले हावी हुन पुगे भने माओवादी रक्षात्मक बन्न पुग्यो ।

प्रधानमन्त्रीको हैसियतमा गरिएको प्रधानसेनापतिबाट रुक्मांगद कटवाललाई हटाउने निर्णय तत्कालीन राष्ट्रपति यादवले रोकेपछि प्रचण्डले पदबाट राजीनामा दिएका थिए ।

०७२ मा दोस्रो राष्ट्रपति चयन हुँदै गर्दा भने कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी शक्ति बने । माओवादीको साथ पाएपछि एमालेकी विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति निर्वाचित भइन् भने कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङ पराजित भए ।

०७२ को संविधानअनुसार, ०७४ को चुनाव लगत्तै फेरि राष्ट्रपतिको चुनाव भयो । त्यो चुनावमा एमाले र माओवादीले गठबन्धन गरेरै भाग लिएकाले विद्या भण्डारी नै २९ फागुन ०७४ मा दोस्रोपटक राष्ट्रपति दोहोरिन् । कांग्रेसले त्यसबेला लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

दोस्रो पटक राष्ट्रपति बनेकी भण्डारीले पनि प्रथम राष्ट्रपति यादवले जस्तै आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउने पार्टी र उसको नेतृत्वलाई साथ दिएको टिप्पणी नेताहरुले सार्वजनिक रुपमै गर्दै आएका छन् । विशेषगरी ओलीले प्रधानमन्त्रीका हैसियतमा गरेको प्रतिनिधिसभा विघटनको निर्णय, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जस्ता सिफारिसमा पूर्व पार्टी पक्षधरता देखाएको आरोप भण्डारीमाथि छ ।

यी दुई राष्ट्रपतिले खेलेको भूमिका र त्यसले राष्ट्रिय राजनीतिमा पारेको असरकै कारणले दलहरुले तेस्रो राष्ट्रपतिलाई प्रतिष्ठाको विषय बनाएका थिए । तेस्रो राष्ट्रपति पाउनेकै निम्ति संसदको तेस्रो दलका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिएर एमालेले १० पुसमा कांग्रेस नेतृत्वको गठबन्धन तोडेको थियो ।

आफैंले कोरेको बाटो

तीन तहको चुनावमा सहकार्य गरेको गठबन्धन तोडेर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दा संसदको सवैभन्दा ठूलो दल कांग्रेस, तत्कालीन राजनीतिको किनारामा धकेलिएको थियो । तर, दुई महिनाभित्रै पाँच दलीय गठबन्धन फेरि ८ दल बनेर ब्यूँतियो ।

सिट बाँडफाँटमा असन्तुष्ट भएर बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) का साथै चुनावबाट आएका दुई नयाँ दल जनमत र नागरिक उन्मुक्ति गठबन्धनमा थपिएका हुन् ।
कांग्रेस नेतृत्वको ५ दलको गठबन्धन बन्नुको आधार भने ५ पुस २०७७ मा प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बनेको थियो ।

प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेकपाको प्रचण्ड–माधव नेपाल समूह सडक आन्दोलनमा उत्रियो भने नेपाली कांग्रेस, जसपा लगायतका दलले विरोध गरे । तर कांग्रेसमा क्रमशः ध्रुवीकरण सुरु भयो । सभापति शेरबहादुर देउवा स्वयं मध्यावधि निर्वाचनको पक्षमा खुल्न थाले भने संस्थापन इतर समूहका नेताहरु विरोधमा अडिए ।

कम्युनिस्ट पार्टीमा विभाजन आएको बेला चुनावमा गए कांग्रेसलाई लाभ हुने देउवाको विश्लेषण थियो । २०७४ सालको चुनावमा तनहुँ–१ बाट पराजित भएका पौडेललाई पनि मध्यावधि हुँदा लाभ नै हुने थियो । तर उनले प्रतिनिधि सभा विघटन प्रतिगमन भएको भन्दै खुलेर विरोध गरे ।

पौडेल व्यक्तिगत लाभहानी नहेरी विघटनको विरोधमा उभिएको स्मरण गर्छन्, कांग्रेस महामन्त्री गगनकुमार थापा । ‘मध्यावधिको खास चाहना निर्वाचन हारेको व्यक्तिलाई हुन्छ’, थापा भन्छन्, ‘उहाँ (पौडेल) ले चुनाव जित्छु भन्ने हिसाब गर्नुभएन । पुनर्स्थापनाका पक्षमा उभिनुभयो ।’

कांग्रेसभित्र पौडेल लगायतका नेताहरुको दबाव, अनि बाहिर प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव लगायतका नेताहरुको पहलपछि देउवा गठबन्धनको अगुवाई गर्दै सरकार गठनको पहल गर्न तयार भएका थिए । २७ पुस २०७८ मा तत्कालीन प्रधामन्त्री ओलीले संसदमा विश्वासको मत नपाएपछि कांग्रेस नेतृत्वको गठबन्धनले औपचारिक आकार लियो ।

७ जेठ २०७८ मा भएको संसद विघटनलाई सर्वोच्च अदालतले २८ असारमा उल्टायो र २९ असारमा देउवा प्रधानमन्त्री भए । त्यसयता उच्चस्तरीय संयन्त्रको नेतृत्व गरेका पौडेलले गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालेमलका लागि भूमिका खेले । त्यसैले कांग्रेस नेताहरु पौडेललाई कांग्रेस नेतृत्वको गठबन्धनको सुत्रधार भन्न रुचाउँछन् । ‘संविधान र अग्रगामी पक्षधर, संसद विघटनविरुद्ध लड्नुको विकल्प थिएन । त्यसको अगुवाई रामचन्द्र दाइले गर्नुभयो’, कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य भन्छन्, ‘गठबन्धनका सूत्रधार उहाँ नै हो ।’

आफ्नै अगुवाइ गरेको त्यही गठबन्धनको बलमा पौडेल राष्ट्रपति निर्वाचित भएका छन् ।

०१७ सालले जन्माएका नेता

पौडेल राष्ट्रपति पदमा पुग्ने सबभन्दा सिनियर नेता हुन् । २००१ साल असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मेका पौडेल १६ वर्षमै राजनीतिमा लागेका थिए । ०१७ सालमा तत्कालीन राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशको ज्वालामुखी बोकेर राजनीतिमा होमिएको पौडेलले बताउने गरेका छन् ।

कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा सहभागिता जनाएका पौडेल विद्यार्थी राजनीतिमा सक्रिय भए । ०२७ सालमा स्थापना भएको नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य समेत हुन उनी ।

बनारसमा रहेका बीपी कोइराला र कोलकातामा रहेका सुवर्णशमशेरबीच मनमुटाव हुँदा आफूले सम्बन्ध सेतुको काम गर्ने गरेको पौडेल स्वयंले बताउने गरेका छन् । ०३३ सालमा बीपी कोइराला भारतको निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गरे, पौडेलले ।

०४४ सालमा कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल ०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापनापछि ०४८ मा भएको चुनावमा तनहुँ १ बाट निर्वाचित भएका थिए । त्यसबेला उनी छोटो समय मन्त्री भए । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट जितेका पौडेल ५ वर्ष सभामुख बने ।

०५६ सालमा तनहुँ २ बाट चुनाव जितेका उनले ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

नेता पौडेल गिरिजाप्रसाद कोइराला लगायतका नेताहरुसँगै शाही शासनविरुद्ध सडकमा उभिए । ०६२÷०६३ को जनआन्दोलन सफल भएसँगै माओवादी शान्ति प्रक्रियामा आयो, पौडेलले शान्ति तथा पुनर्निमाण मन्त्री भए । त्यसयता उनी शासकीय जिम्मेवारमा रहेनन् ।

बरु प्रधानमन्त्री पदमा १७ पटकको पराजय व्यहोरेको नमिठो अनुभव उनीसँग छ । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, माओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले उम्मेदवारी दिएका थिए ।

संवैधानिक प्रावधान अनुसारको मत नपाएपछि पटकपटक प्रतिस्पर्धा भयो । १७ पटक प्रतिस्पर्धा गर्दा पनि पौडेल प्राधनमन्त्री बन्न सकेनन् । चुनावी शृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्बन्धी नियमावली नै परिवर्तन गरिएको थियो । लगत्तै भएको प्रतिस्पर्धामा झलनाथले बाजी मारे भने रामचन्द्र पराजित भए ।

कांग्रेसमा उपसभापति र छोटो समय कार्यबाहक सभापति भएका पौडेलले पार्टी सभापति जित्न सकेनन् । १३ औं महाधिवेशनमा देउवासँग पराजित भएका उनले १४ औं महाधिवेशनमा पनि उठ्न चाहेका थिए । तर संस्थापन इतर समूहकै साथ नपाएपछि उनले उम्मेदवारी नै नदिने निर्णय लिएका थिए ।

पौडेलले राजनीतिक आन्दोलनका क्रममा पटक–पटक गरी करिव १५ वर्ष जेल जीवन बिताएका छन् । लामो र अथक राजनीतिक सक्रियता उनको पुँजी हो । पटकपटक शासन सत्तामा पुग्दा पनि भ्रष्टाचार वा ठूला विवादमा नमुछिएका नेता पौडेल कांग्रेसभित्र वैचारिक चिन्तन गर्ने नेताका रुपमा चिनिन्छ । आलोचकहरु भने परिवारवादबाट मुक्त हुन नसक्नु र सानो चित्त गर्नु उनको कमजोरी मान्छन् ।

नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्री गरेका पौडेलका ‘प्रजातान्त्रिक समाजवादः एक अध्ययन’, ‘नेपाली कांग्रेस के भन्छ ? नयाँ सन्दर्भ’मा समाजवाद लगायत कृति प्रकाशित छन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

सेमिअटोमेटिक पेस्तोल र गोलीसहित ३ जना पक्राउ

वीरगन्ज महानगरद्वारा मदिरा ब्यबसायको अनुगमन

neelamb